धनकुटा । धनकुटाको सिधुवामा सम्पन्न दोस्रो अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाले जितेको छ ।
सिंहदेवि युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा आइतबार धनकुटा नगरपालिकालाई ३-२ गोलले पछि पार्दै छथर जोरपाटीले उपाधि जितेको हो ।
छथर जोरपाटीको जितमा रोहित लिम्बू, पर्बत दाहाल र बिक्रम लिम्बूले समान १-१ गोल गरे । उता, पराजित धनकुटाका लागि दिपेन शाक्य र पदम भट्टराईले समान १-१ गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
छथर जोरपाटीले प्रतियोगितामा विजेता भएसँगै एक लाख ५० हजार नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ । उपविजेता बनेको धनकुटाले ७५ हजार नगदसँगै शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ ।
फाइन खेलको म्यान अफ दि म्याच छथर जोरपाटीका पर्बत दाहाल घोषित भए । प्रतियोगिताको बेस्ट गोलकिपर छथर जोरपाटीका निकेश सुन्दास, बेष्ट डिफेन्डर छथर जोरपाटीकै ओम भुजेल, बेष्ट मिडफिल्डर धनकुटाका इनाम तामाङ, बेष्ट कोच छथर जोरपाटीका बिक्रम लिम्बु भए । त्यसैगरी हाई स्कोरर सामान ३ गोल गरेका छथर जोरपाटीका बिक्रम लिम्बू, प्रशान्त श्रेष्ठ र धनकुटाका पदम भट्टराई भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी छथर जोरपाटीका बिक्रम लिम्बू चुनिए ।
विजेता खेलाडी तथा टिमलाई छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा लगायतले नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरे ।
