काठमाडौं । ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ नगरपालिका, अन्नपूर्ण र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा सोमबार विजयी सुरुवात गरेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ८४-२३ को फराकिलो अन्तरले हरायो ।
ट्रेनिङ ग्राउण्डले चारै क्वाटरमा अग्रता लिँदै २४-८, २६-६, २२-१,१२-८ को प्रदर्शन गर्यो । यस खेलमा रोशनी श्रेष्ठ प्लेअर अफ दी म्याच घोषित भइन् । यस्तै समूह बी कै खेलमा बुढानिकण्ठले प्रतिस्पर्धात्मक ग्राण्डी स्टार्सलाई ५०-३८ ले हरायो ।
ग्राण्डीले पहिलो क्वाटर १६-१२ र दोस्रो क्वाटर ९-५ ले आफ्नो पक्षमा पार्दा हाफटाइमसम्म २५-१७ को अग्रता बनाएको थियो । तर बुढिनलकण्ठले अन्तिम दुई क्वाटरमा १०-१ र २३-१२ को अग्रता बनाउँदै खेल जितेको हो ।
यस खेलम राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अनुसा मल्ल प्लेअर अफ दि म्याच घोषित भइन् । समूह ए मा रहेको उपत्यका बाहिरको दुई टोलीबीचको भिडन्तमा अन्नपूर्ण बास्केटबल एसोसिएसनले सुनसरी बास्केटबल एसोसिएसनलाई ४४-३५ ले हरायो ।
खेलमा अन्नपूर्णले १०-५, १३-५, ५-१०,१६-१५ को प्रदर्शन गर्यो । अन्नपूर्णकी निबीती शर्मा प्लेअर अफ दि म्याच घोषित भइन् । यस्तै समूह ए को प्रतिस्पर्धात्मक खेलमा आइएसए नेपालले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८-४१ ले हरायो ।
पहिलो क्वाटर लेट्स गो बास्केटबल एकेडेमीले १८-१२ ले आफ्नो पक्षमा त्यसपछि आइएसए नेपालले पुनरागमन गरेको हो । दोस्रो क्वाटर आइएसए नेपालले ११-६ ले आफ्नो पक्षम पार्दा तेस्रो क्वाटरमा दुवैले १०-१० स्कोर गरेका थिए ।
तेस्रो क्वाटरसम्म लेट्स गो बास्केटबल एकेडेमी ३४-३३ ले अघि रहेपनि चौथो तथा अन्तिम क्वाटर १५-७ ले आफ्नो पक्षमा पार्दै आइएसएले खेल जितेको हो । आइएसएकी मिली लामा तामाङ प्लेअर अफ दि म्याच घोषित भइन् ।
