राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति नलिएका अखिल नेपाल फुटबल संघ (एन्फा) का १५ पदाधिकारी बेलायत उड्न नपाउने भएका छन्।

राष्ट्रिय खेलकुद ऐनअनुसार विदेश भ्रमणमा जाने खेलाडी र पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। तर, एन्फाले स्वीकृतिबिनै आफ्ना १५ पदाधिकारीलाई बेलायत उडाउन खोजेपछि युवा तथा खेलकुद मन्त्रालयले उनीहरूलाई रोक्न गृह मन्त्रालयमा पत्र पठाएको हो।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बेलायत जान १५ पदाधिकारीले राखेपबाट स्वीकृति नलिएसम्म रोक्न निर्देशन दिएका छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिखमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउन लागेको हो। उक्त मैत्रीपूर्ण खेल हेर्न एन्फाका ५ भीआईपी र अन्य १५ जना बेलायत उड्न लागेका छन्।

तर, मैत्रीपूर्ण खेल खेल्ने २३ खेलाडी र ७ अफिसियल गरी कुल ३० जनाको नाम एन्फाले स्वीकृतिको लागि राखेप पठाएको सदस्यसचिव टंकलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए। उनका अनुसार ३० जनालाई भने राखेपले सोमबार स्वीकृति दिएको थियो।

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टोलीको मात्र स्वीकृति लिनुपर्ने जिकिर गरे। बाँकी २० जना आफ्नै खर्चमा जाने भएकोले स्वीकृतिको लागि पत्र नपठाएको उनले बताए। तर, उनीहरूको भिसाको लागि बेलायती राजदूतावासमा सिफारिस भने एन्फाले गरेको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *