इटहरी । सुनसरीको इटहरीमा सम्पन्न कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि फेयर फुटबल क्लब, सुनसरीले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा आत्मा पवित्र एससी, इलाम १-० गोल अन्तरले पराजित गर्दै फेयर च्याम्पियन बनेको हो । फेयरलाई जित दिलाउन शिक्षा याखाले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

विजेता फेयरले २ लाख रुपैयाँ र उपविजेता आत्म पवित्रले १ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । फाइनल खेलको प्लेयर अफ दि म्याच निर्णायक गोलकर्ता शिक्षा याखा घोषित भइन् । उनले नगद ५ हजार प्राप्त गरिन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फेयरकी प्रजिता राई घोषित भइन् । उनले नगद २५ हजार प्राप्त गरिन् । यसैगरी फेयरकै उषा थापा उत्कृष्ट गोलकिपर र सार्वधिक गोलकर्ता आत्म पवित्रकी वर्षा ओली घोषित भए । उनीहरुले जनही ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

विजेता टोली तथा खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद बिकास बोर्डका उपाध्यक्ष बसन्त अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए । इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *