मेक्सिकोविरुद्धको खेलमा इङ्ग्ल्यान्डका खेलाडीले ‘भियग्रा’ प्रयोग गर्न पाउने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार मेडिकल स्टाफले खेलाडीहरूलाई भियग्रा खाने अनुमति दिएका हुन् ।

मेक्सिकोको प्रतिष्ठित ‘एस्टाडियो एज्टेका रंगशाला’मा हुने खेलअघि उच्च उचाइका कारण शरीरमा पर्ने असर कम गर्न इङ्ग्ल्यान्डका खेलाडीहरूलाई भियग्रा प्रयोग गर्ने विकल्प दिइएको हो ।

रिपोर्टअनुसार, औषधि प्रयोग गर्ने वा नगर्ने निर्णय खेलाडीहरूको स्वेच्छामा निर्भर हुनेछ । यसको उद्देश्य कुनै अतिरिक्त प्रतिस्पर्धात्मक लाभ लिनु नभई उच्च उचाइमा कम अक्सिजनका कारण शरीरमा पर्ने असरलाई कम गर्नु रहेको बताइएको छ ।

अन्तिम १६ को यो खेल समुद्री सतहबाट करिब ७ हजार ३५० फिट उचाइमा रहेको मेक्सिको सिटीमा खेलिनेछ । यस्तो उचाइमा हावा पातलो हुने भएकाले शरीरले कम अक्सिजन प्राप्त गर्छ, जसले खेलाडीको सहनशक्ति, रिकभरी क्षमता तथा समग्र प्रदर्शनमा असर पार्न सक्छ ।

विशेषगरी यस्ता परिस्थितिमा खेल्ने अनुभव कम भएका टोलीहरूका लागि यो थप चुनौतीपूर्ण मानिन्छ । इङ्ग्ल्यान्डको मेडिकल टोलीले उच्च उचाइको प्रभाव कम गर्न विभिन्न उपायबारे अध्ययन गरेको बताइएको छ । तीमध्ये भियग्रा पनि अनुमति प्राप्त विकल्पका रूपमा रहेको छ ।

रक्तनली फराकिलो बनाउन सहयोग गर्ने यो औषधिले रक्तसञ्चारमा सुधार ल्याउन सक्छ र उच्च उचाइमा कम अक्सिजनका कारण हुने केही शारीरिक समस्यालाई कम गर्न सहयोग पुग्न सक्ने विश्वास गरिएको छ ।

यद्यपि, भियग्रा विश्व एन्टी–डोपिङ एजेन्सी (WADA) को प्रतिबन्धित औषधिको सूचीमा पर्दैन । त्यसैले खेलाडीहरूले प्रतियोगिताका बेला वा प्रतियोगिताबाहिर पनि यसको प्रयोग गर्न पाउँछन् । WADA ले रक्तसञ्चारमा पर्ने यसको प्रभावका विषयमा वर्षौंदेखि अध्ययन गर्दै आए पनि समुद्री सतह वा सामान्य उचाइमा यसले खेल प्रदर्शनमा उल्लेखनीय सुधार ल्याउने ठोस वैज्ञानिक प्रमाण भने फेला परेको छैन ।

यसको सम्भावित उपयोग मुख्यतः उच्च उचाइमा कम अक्सिजनको प्रभाव कम गर्न सहयोग पुर्‍याउनेमा सीमित रहेको मानिन्छ ।

घरेलु मैदानमा मेक्सिकोको कीर्तिमान निकै बलियो छ । मेक्सिकोले त्यहाँ खेलेका ८९ खेलमध्ये केवल दुई खेलमा मात्र हार बेहोरेको छ भने उक्त मैदानमा पछिल्लो पटक सन् २०१३ मा मात्र पराजित भएको थियो । यस वर्षको विश्वकपमा आफ्ना चारवटै खेल जित्दै मेक्सिको उच्च आत्मविश्वासका साथ अन्तिम १६ मा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *