विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगअन्तर्गत नव जनजागृति युवा क्लबमाथि सानदार जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा आर्मीले नव जनजागृतिलाई ३–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।
यो जितसँगै आर्मीले लिगमा आफ्नो पाँचौं सफलता हासिल गरेको छ । आठ खेलबाट १७ अंक जोडेको आर्मी तालिकाको शीर्ष प्रतिस्पर्धामा मजबुत रूपमा उभिएको छ ।
खेलको नवौं मिनेटमै जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । सुरुआती अग्रतापछि आत्मविश्वासका साथ खेलेको आर्मीले दोस्रो हाफमा खेलमाथि पूर्ण नियन्त्रण जमायो । ५४औं मिनेटमा नवयुग श्रेष्ठले सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि ७६औं मिनेटमा कुन्साङ लामाले अर्को गोल थप्दै आर्मीको जित सुनिश्चित गरे ।
पराजित नव जनजागृतिको भने यो लगातार आठौं हार हो । समान आठ खेल खेलेको नव जनजागृति अंकविहीन रहँदै तालिकाको पुछारमा संघर्षरत छ ।
