सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो ।

सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो । बागमतीकी कृष्मा गुरुङले २३ बलमा २ चौका सहित सर्वाधिक १६ रन बनाइन् । अन्य कुनै ब्याटरले दोहोरो अंकमा पनि रन बनाउन नसक्दा बागमती पराजित भयो ।

सुदुरपश्चिमका लागि ऋतु कनोउजियाले ३ विकेट लिँदा कविता जोशी र लक्ष्मी साउदले समान २-२ विकेट लिए । विन्दु रावल र करिश्मा थापाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट मात्र गुमाएर १५७ रन जोड्यो । सुदुरका लागि ओपनर सम्झना खड्‌काले ४७ बलमा १० चौका प्रहार गर्दै अविजित रहँदै ७४ रन बनाइन् । अर्की ओपनर रुबी पोडार र कप्तान विन्दु रावलले समान २८-२८ रन बनाउँदा कविता जोशी २० रनमा अविजित रहिन् ।

बागमतीका लागि करिश्मा गुरुङले १ विकेट लिइन् ।

सुदुरले ४ खेलमा ६ अंक बटुल्दै दोस्रो भएर फाइनल पुगेको छ । यसअघि एपिएफ सबै खेलमा जित हासिल गर्दै फाइनल पुगिसकेको थियो । ललितपुर मेयर्स-११, कोशी प्रदेश र बागमती प्रदेशले समान २-२ अंक हासिल गरे ।

सिंगल राउण्ड रोबिन प्रणालीमा खेलाईएको यस प्रतियोगिताको फाइनल शनिबार हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *