इटहरी (सुनसरी) । तेस्रो मेयर कप अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा मोरङको विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका विजयी भएका छन् ।

इटहरीस्थित डिभिएम स्कुलको खेलमैदानमा भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको त्रियुगा नगरपालिकालाई ८ विकेटले सहज रूपमा पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको त्रियुगा १४ ओभरमै ५५ रनमा समेटिएको थियो ।

त्रियुगाका लागि पप्पु यादवले ३२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका दिपेश कँडेल, मेहबुब बाबु इराकी र अमर यादवले समान ३–३ विकेट लिएर त्रियुगाको ब्याटिङ लाइन ध्वस्त पारे ।

५६ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले ५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। विराटनगरका रितिक कामत २३ रनमा अविजित रहे भने टोलीले १९ रन अतिरिक्त प्राप्त गरेको थियो । उत्कृष्ट बलिङ प्रदर्शन गरेका मेहबुब बाबु इराकी प्लेयर अफ द म्याच घोषित भए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा कटहरी गाउँपालिकाले मोरङको सुन्दरहरैचा नगरपालिकालाई ५० रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो ।

ओसिलो पिचका कारण १४ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कटहरीले ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।

कटहरीका लागि लव कामतले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ४६ रनको अविजित पारी खेले । उनले ५ चौका र १ छक्का प्रहार गरे । रबिन्द्र यादवले २७ बलमा ३६ रन बनाए भने दीपु भुजेल १५ रनमा अविजित रहे । सुन्दरहरैचाका अनिल लामिछानेले ३ विकेट लिए ।

१३४ रनको लक्ष्य पछ्याएको सुन्दरहरैचा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमै सीमित भयो । आदित्य बिक र ज्ञातब्य सुवेदीले समान १४–१४ रन बनाए भने अनिल लामिछानेले १३ रन जोडे ।

कटहरीका प्रेम कामत, अभय कामत र लब कामतले समान २–२ विकेट लिएपछि सुन्दरहरैचाका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । अलराउन्ड प्रदर्शन गरेका लब कामत प्लेयर अफ द म्याच घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँबाट पुरस्कृत भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *