काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन दिनेश प्रजापति ६-अन्डर ६२ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् ।
दिनेशले भुवन कुमार रोक्का र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई २ स्ट्रोकले पछि पारेका छन् । भुवन र स्वप्निलले ४-अन्डर ६४ को स्कोर बनाएका छन् । उनीहरूले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। ३-अन्डर ६५ स्कोर बनाएका सञ्जय लामा र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे ।
यस्तै भुवन नगरकोटी र शुक्र बहादुर राई २-अन्डर ६६ सहित संयुक्तरुपमा छैटौं स्थानमा छन् । यस्तै दीपक मगर, टंक बहादुर कार्की र एमेच्योर बलराम पौडेलले १-अन्डर ६७ सहित संयुक्तरुपमा आठौं स्थानमा रहे ।
एमेच्योरतर्फ स्वप्निल ४-अन्डर ६४ सहित बलराम पौडेललाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा छन् । १-अन्डर ६७ को स्कोरमा बलराम दोस्रो स्थानमा र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा इभन-पार ६८ सहित तेस्रो स्थानमा रहे ।
रोयल नेपाल गल्फ क्लबमा दिनेशले उत्कृष्ट सुरुवात गर्ने क्रममा आज ८ वटा बर्डी प्रहार गरे । पहिलो, दोस्रो र नवौं होलमा एक-एक सट बचाउँदा पाँचौं होलमा बोगी खेपे । फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए । यसपछि १०औं, १३औं , १४औं, १६औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे । १२औं होलमा एक सट खेर फाल्दा ब्याक नाइनमा ४-अन्डर ३० को सानदार प्रदर्शन गरे । भुवनले तेस्रो होलको बोगीका विरूद्ध पहिलो, चौथो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४-अन्डर ३० मा पुरा गरे । यसपछि बाँकी नौ होलमा पार बचाउँदै ब्याक नाइन इभन-पार ३४ खेले । एमेच्योर स्वप्निलले फ्रन्ट नाइन बोगी रहित खेले । दोस्रो होलमा इगलको सफलता प्राप्त गर्दा नवौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३१ मा सकाए ।
१२औं होलमा बोगी खेपेका उनले १३औं र १७औं होलमा एक-एक सट बचाए। ब्याक नाइन १-अन्डर ३३ मा सकाए । सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपाल द्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन् ।
दोस्रो राउन्डको समाप्तिमा कट लागु हुनेछ, जहाँ उत्कृष्ट १८ प्रोफेसनल खेलाडी तथा सोही कटमा रहने एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागी स्थान बनाउनेछन ।
प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको छ । विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९० हजार र ७० हजार प्राप्त गर्नेछन् । चौथो र पाँचौं हुने खेलाडीले ५५ हजार र ४६ हजार हात पार्नेछन्। साथै, उत्कृष्ट १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् ।
