अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै सतकको मदतमा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा आज विहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हिर्काए । अहिलेसम्म भएको मिल्स क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी रहेका छन् ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले सुनसरी क्रिकेट क्बललाई २२२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१४ रन बनाएको हो ।

जसमा विराटनगरका ओपनर देव खनाल १० बलमा ३१ रन मात्रै बनाएर अलआउट भए । यसअघिको खेलमा उनले ३० बलमा सतक बनाएका थिए । त्यसैगरी इमरान नजिरले १७ बलमा ३६ रन पारी खेल्दा सन्दिप खत्रीले ९ बलमा ३५ रनको योगदान दिए ।

सुनसरीका समिर तिम्सिना र भुपाल लुईटेलले समान २ -२ विकेट लिए । सोनु मण्डल र गौरव कटुवालले समान १-१ विकेट लिए ।

विराटनगरले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको सुनसरीले १६.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । सुनसरीका सोनु मण्डलले २२ बलमा २५ रन, आकाश सर्राफले १५ रन र सुमन गतराजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

विराटनगरका बलर बिपिन खत्री, शोजराज भट्ट र नारायण जोशीले समान २-२ विकेट लिए ।

पहिलो खेलको प्लेर अफ द म्याच अभिषेक पाठक घोषित भए । अहिले दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *