काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २३ को आयोजनामा सञ्चालन भइरहेको चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा वडा नं. २१, ४, ६ र १३ विजयी भएका छन् ।
प्रतियोगिताको तेस्रो दिन शनिबार चार खेल सम्पन्न भएका हुन् । पहिलो खेलमा काठमाडौं महानगरपालिका केन्द्र र वडा नं. २१ बीच प्रतिस्पर्धा भएको थियो ।
काठमाडौं महानगरपालिका केन्द्रका प्रकाश सुवेदीले आत्मघाती गोल गरेपछि वडा नं. २१ ले १–० को जित निकालेको हो । खेलमा वडा नं. २१ का अनिकेत देउला म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा वडा नं. ४ ले वडा नं. १९ लाई ३–१ गोलले पराजित गर्यो ।
पहिलो हाफमा विनय गर्तौलाको गोलबाट अग्रता लिएको वडा नं. ४ का लागि दोस्रो हाफमा अर्ग रेग्मी र असिम गुरुङले एक–एक गोल थपे । वडा नं. १९ का पियुष श्रेष्ठले एक गोल फर्काए । यस खेलमा वडा नं. ४ का अग्रिम भण्डारी म्यान अफ द म्याच घोषित भए । तेस्रो खेलमा वडा नं. ६ ले वडा नं. २ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्यो । वडा नं. ६ का संयम घिमिरेले दुई गोल गरे भने दिपेश श्रेष्ठ र आशिष लामाले एक–एक गोल थपे । यस खेलमा वडा नं. ६ का संयम घिमिरे म्यान अफ द म्याच घोषित भए ।
दिनको चौथो तथा अन्तिम खेलमा साविक विजेता वडा नं. १३ ले वडा नं. २२ लाई ५–० गोलले पराजित गर्यो । पहिलो हाफमै तीन गोलको अग्रता बनाएको वडा नं. १३ का लागि अभय राणाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सम्पूर्ण केसीले पेनाल्टीमार्फत दोस्रो गोल गरे । आशिष कपालीले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरे भने अभय राणाले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित ५–० ले सुनिश्चित गरे । यस खेलमा वडा नं. १३ का अभय राणा म्यान अफ द म्याच घोषित भए ।
