काठमाडौं । एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगितामा सहभागी १३ टोलीमध्ये चार टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
नेपाली भेट्रान्स फुटबलकै अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार राशि दाबी गरिएको यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
भेट्रान्स फुटबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा अनुभवी खेलाडी, प्रतिस्पर्धात्मक टोली र फुटबलप्रेमी दर्शकको उत्साहपूर्ण सहभागिता देखिएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
क्वार्टरफाइनलका चार खेलबाट सेक्रेट्स एफसी, फ्रिडमफाइटर्स, बीएमजे र पेपे पिज्जाले सेमिफाइनलमा स्थान बनाएका छन् । सेक्रेट्स एफसीले वी प्लेलाई ४–२ गोलले पराजित गर्यो । फ्रिडमफाइटर्सले बागलुङ भेट्रान्समाथि ५–२ को प्रभावशाली जित निकाल्यो ।
त्यसैगरी, बीएमजेले प्रतिस्पर्धात्मक खेलमा एन पेनाङलाई ४–२ गोलले हराउँदा पेपे पिज्जाले न्युगेनलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । यी जितसँगै चारै टोलीको उपाधि जित्ने सम्भावना कायम रहेको छ । अब फाइनल प्रवेशका लागि हुने प्रतिस्पर्धाले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको निर्णायक चरण शनिबार, असोज २४ गते हब स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ । उक्त दिन सेमिफाइनलसँगै फाइनल खेल पनि हुनेछ । फाइनलपछि प्रतियोगिताको पहिलो संस्करणको च्याम्पियन टोलीको टुंगो लाग्नेछ । कीर्तिमानी पुरस्कार राशि दाउमा रहेकाले बाँकी टोलीहरू उपाधिसँगै नेपाली भेट्रान्स फुटबलको इतिहासमा आफ्नो नाम लेखाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन् ।
प्रतियोगिताको पुरस्कार संरचनाले पनि यसको महत्त्व र आकर्षणलाई थप बढाएको छ । विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले तीन लाख २५ हजार रुपैयाँ पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) ले ५० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
एक्स्ट्रिम र फुडपार्कको प्रस्तुतिमा आयोजना भइरहेको प्रतियोगितालाई पेपे पिज्जा, जेन्ट्स पार्क, इन्फिनिटी, डिर्क एन्ड ब्राउन, केएफसी, बिग टेक र सुपरयुले सहयोग गरेका छन् । गिफ्ट पार्टनरका रूपमा गउरमेट भियना, डीके फुड्स र मिट बेकर रहेका छन् । त्यसैगरी, ह्याम्स मेडिकल पार्टनर, युनाइटेड अजोड इन्स्योरेन्स पार्टनर, गोल नेपाल मिडिया पार्टनर, एक्वाफिना हाइड्रेसन पार्टनर, निम्बु पानी बेभरेज पार्टनर र ट्रस्ट गार्ड सुरक्षा पार्टनरका रूपमा रहेका छन् ।
प्रतियोगिता अन्तिम चरणमा प्रवेश गरेसँगै उपाधि भिडन्तप्रतिको उत्सुकता बढेको छ । सेमिफाइनलमा पुगेका चार टोलीबीचको प्रतिस्पर्धाले फाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ । अनुभव, दृढता र इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रने टोलीमध्ये कसले पहिलो संस्करणको उपाधि जित्ला भन्ने चासो बढेको छ । हब स्पोर्ट्स सेन्टरमा हुने निर्णायक खेलसँगै एक्स्ट्रिम प्रिजेन्ट्स फुडपार्क भेट्रान्स कप २०२६ ले नेपाली भेट्रान्स फुटबलमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।
