जर्मनीमा ३५ वर्षीय फुटबलर मारियुस आफ्नै सहकर्मी ३० वर्षीय फिलिपलाई विष दिएर हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सन् २०२५ जुनमा टोलीसँग ड्रेसडेन भ्रमणमा रहेका बेला मारियुसले फिलिपलाई लुकाएर विष दिएको हुन सक्ने आशंका छ । त्यसपछि गम्भीर बिरामी परेका फिलिपको १६ जुन २०२५ मा मृत्यु भएको थियो ।

सुरुमा उनको मृत्यु फूड पोइजनिङका कारण भएको आशंका गरिएको थियो । तर पछि भएको अनुसन्धानमा विषको भूमिका देखिएपछि प्रहरीले मारियुसमाथि अनुसन्धान केन्द्रित गरेको हो ।

प्रहरीले उनीहरूबीच एक महिलालाई लिएर विवाद रहेको र बदला लिन हत्या गरिएको हुन सक्ने आशंका गरे पनि यसको पुष्टि भइसकेको छैन ।

मारियुसले आरोपबारे हालसम्म कुनै बयान दिएका छैनन् । उनी प्रहरी हिरासतमा छन् र हत्याको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन । पक्राउपछि क्लबका खेलाडी तथा पदाधिकारी स्तब्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *