ग्रामथान । मोरङ ग्रामथानको नवआरम्भ नेपालको आयोजनामा जारी प्रथम यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगितामा बिरेन्द्र मावि, पिडारबनी र गोदावरी स्कुल, विराटनगर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार ग्रामथान-१ लखन्तरीस्थित नडियाटोकको खेलमैदानमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा पब्लिक मावि, नेताचौकलाई १-० गोल अन्तरले पराजित गर्दै बिरेन्द्र मविले अन्तिम चारमा स्थान बनाएको हो ।
बिरेन्द्र मविको जितमा ओम रिसिदेवले गरेको एक मात्र गोल निर्णायक बन्यो । ओम नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
त्य्सैगरी, मंगलबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा हरैँचा मोडल स्कुल, हरैँचालाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै गोदावरी स्कुलले सेमिफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयम दुबै टोलीले गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोदावरी स्कुलका गोलरक्षक रोशन मेहता म्यान अफ दि म्याच भए ।
प्रतियोगिता अन्तर्गत आज बुधबार पनि दुई खेल हुनेछन् । बिरेन्द्र मावि, लखन्तरी र सारदा स्कुल, झोरहाटबीच दिउँसो २:३० बजे अन्तिम क्वार्टरफाइनल खेल हुनेछ भने गोदावरी स्कुल, विराटनगर र सरस्वती मावि, झोरहाटबीच दिउँसो ४ बजे पहिलो सेमिफाइनल खेल हुनेछ
प्रतियोगितामा मोरङका विभिन्न १२ विद्यालयहरूको सहभागिता रहेको आयोजक नवआरम्भ नेपालका अध्यक्ष प्रमोद राना मगरले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल भदौ २७ गते आयोजना गरिनेछ ।
