विराटनगर । नेपालको क्रिकेट विकासमा तल्लो तह (ग्रासरुट्स) बाटै प्रतिभावान खेलाडी पहिचान गर्ने उद्देश्यले विराटनगर किंग्सले आफ्नो दोस्रो संस्करणको ग्रासरुट्स डेभलपमेन्ट प्रोग्राम अन्तर्गत “Dream to Play 2026” आयोजना गर्ने भएको छ । यो प्रतियोगिता आगामी अशोज १ गतेदेखि ५ गते (सेप्टेम्बर १७ देखि २१, २०२६) सम्म सञ्चालन हुनेछ ।
काेशी प्रदेश क्रिकेट संघ अन्तर्गतका पाँच जिल्लाका युवा खेलाडीहरूबीच टी-२० फर्म्याट मा प्रतिस्पर्धा गराइनेछ ।
काेशी प्रदेशका विभिन्न जिल्लामा लुकेर रहेका प्रतिभाशाली युवा क्रिकेट खेलाडीहरूलाई एउटै प्लेटफर्ममा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विराटनगर किंग्सले जनाएकाे छ । विराटनगर किंग्सका अनुसार यस प्रतियोगिताको अर्को महत्त्वपूर्ण पक्ष भनेको टोलीका लागि Iconic Player छनोट गर्नु हो ।
प्रतियोगिता अवधिभर खेलाडीहरूको प्रदर्शन, क्षमता, अनुशासन र क्रिकेट कौशलको मुल्याङ्कन गर्दै उत्कृष्ट प्रतिभाहरूमध्येबाट टोलीको आइकनिक्स खेलाडी छानिनेछ । यसले युवा खेलाडीहरूलाई व्यावसायिक क्रिकेटतर्फ अघि बढ्न थप प्रेरणा र अवसर प्रदान गर्ने विश्वास लिइएको छ।विराटनगर किंग्सका टिम डाइरेक्टर दिपेन्द्र चौधरीद्वारा जारी विज्ञप्तिमा हरेक प्रतिभाको सपनालाई वास्तविकतामा बदल्न सही अवसर आवश्यक पर्ने र “Dream to Play 2026” त्यही अवसर सिर्जना गर्ने एउटा महत्त्वपूर्ण कदम रहेको उल्लेख गरिएको छ ।
