काठमाडौँ । एवाइएम खेल महोत्सव ३.० अन्तर्गत धन्वन्तरी इन्डोर ग्राउन्डमा सम्पन्न १० ओभरका लिग खेलहरूमा टिप टप राइडर्स र द टर्फ वारियर्स ‘ए’ ले आ-आफ्नो दबदबा कायम राख्दै दोहोरो जित दर्ता गरेका छन् । टिप टप राइडर्सले पहिलो खेलमा एल्फु च्यार्जर्सलाई ५६ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
टस जितेर पहिले फिल्डिङ रोजेको एल्फुविरुद्ध राइडर्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १२५ रनको मजबुत योगफल खडा गरेको थियो । राइडर्सका लागि आशुतोष घिमिरेले सर्वाधिक ३० रन, कप्तान कृष्ण केडियाले ३० रन तथा शशांकले मात्र ५ बलमा १५ रन जोडे । जवाफमा १२६ रनको लक्ष्य पछ्याएको एल्फु च्यार्जर्स राइडर्सको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु सम्हालिन नसक्दा ६९ रनमै रोकियो ।

प्रतियोगिताअन्तर्गत भएका अन्य दुई खेलमा फिनिक्स एक्सआई (काठमाडौँ रोयल्स) र साबित्री काञ्चनजङ्घा काठमाडौँ नाइट्सले सहज जित हात पारे । फिनिक्स एक्सआईले माईटी लायन्सलाई ७ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको माईटी लायन्सलाई ५१ रनमै रोकेपछि ५२ रनको लक्ष्य फिनिक्सले ५.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अर्को खेलमा साबित्री काञ्चनजङ्घा काठमाडौँ नाइट्सले एमबी थन्डरबोल्ट्सलाई ७ विकेटले नै पराजित गर्यो । पहिले ब्याटिङ गरेको एमबी थन्डरबोल्ट्स ९.५ ओभरमा ७३ रनमा अलआउट भएपछि ७४ रनको लक्ष्य साबित्री काञ्चनजङ्घाले मात्र ४.१ ओभरमा ३ विकेट गुमाएर भेटाउँदै महत्त्वपूर्ण जित निकाल्यो ।
