नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन टोली लुम्बिनी लायन्सले भिभान्ता काठमाडौं होटलसँग हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको छ । तेस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्स भिभान्ता काठमाडौँ होटलमा बस्ने छ ।

गत सिजनमा पनि लुम्बिनी लायन्सले च्याम्पियन यात्रा तय गर्दा ललितपुरको झम्सिखेलमा अवस्थित भिभान्ता काठमाडौं होटलबाटै सुरु गरेको थियो । नयाँ सम्झौता अनुरुप भिभान्ता काठमाडौं होटलले एनपिएलका दौरान खेलाडी तथा सपोर्ट स्टाफसहित लुम्बिनी लायन्सको टोलीका लागि आवास, वेलनेससहितको आतिथ्यता प्रदान गर्नेछ ।

सम्झौतामा लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र भिभान्ता होटल काठमाडौंका प्रवन्धक प्रविण पुडासैनीले हस्ताक्षर गरेका छन् । लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भिभान्ताको स्तरीय आतिथ्यताको कारण गत वर्ष लुम्बिनी लायन्सले च्याम्पियन कथा कोर्न सफल भएको स्मरण गरे ।

भिभान्ता काठमाडौं होटलका प्रवन्धक प्रविण पुडासैनीले सम्झौतापछि भने, ‘हामी तेस्रो सिजनमा पनि लुम्बिनी लायन्सलाई स्वागत गर्न पाउँदा एकदमै आभारी छौं । गत वर्ष एनपिएलको उपाधि जिते जस्तै यसपटक पनि पूर्ण जित्ने आशाका साथ हामी लुम्बिनी लायन्स टोलीलाई भिभान्ता होटलमा स्वागत गर्दै शुभ सन्देश दिन चाहान्छौं । भिभान्ता परिवारमा यहाँहरुको बसाई आरामदायी हुने विश्वास हामीले लिएका छौं । लुम्बिनी लायन्सलाई हाम्रो शुभकामना छ ।’

लुम्बिनी लायन्सका मार्की खेलाडी एवंम कप्तान रोहित पौडेल हुन् । रोहितसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेक गौतमलाई लुम्बिनीले तेस्रो सिजनका लागि ‘रिटेन’ गरेको थियो भने अक्सनबाट आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहानलाई लिएको थियो ।

लुम्बिनी लायन्सको गत सिजनको विजयी यात्रामा प्लेयर अफ द सिरिजमा चुनिएका नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलमनले यस सिजन पनि च्याम्पियन टोलीबाट खेल्न सम्झौता गरिसकेका छन् । साथै श्रीलंकाका विकेटकिपर निरोशन डिकवेला पनि निरन्तर लुम्बिनी लायन्सको टोलीमा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *