काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको तेस्रो दिन आठ खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताको तेस्रो दिन छात्रतर्फ पाँच तथा छात्रातर्फ तीन खेल भएका हुन् । छात्रातर्फको पहिलो खेलमा निष्ट स्कुल ‘बी’ ले रातो बंगला स्कुललाई १२–४ ले पराजित गर्यो । अर्को खेलमा आर्या स्कुलले युरो स्कुल कोटेश्वरलाई १६–८ ले हरायो । यो युरो स्कुलको लगातार दोस्रो हार हो भने आर्या स्कुलको पहिलो जित हो । त्यस्तै, चेस्सी वल्ड स्कुलले निष्ट स्कुल ‘ए’ लाई १६–२ ले पराजित गर्यो ।
छात्रतर्फको पहिलो खेलमा मनास्लु वल्ड स्कुलले निष्ट स्कुललाई २१–२ ले हरायो । अर्को खेलमा राराहिल मेमोरियल स्कुल सनसाइन सेकेन्डरी स्कुलसँग ३२–८ ले पराजित भयो ।
त्यसैगरी, रातो बंगला स्कुल इनोभेटिभ इङ्लिस स्कुलसँग १२–५ ले पराजित भयो । छात्रतर्फकै अर्को खेलमा आयोजक बीडीएस ओएसिस इङ्लिस स्कुलसँग ११–२ ले पराजित भयो । बीडीएसकै अर्को टोली सनसाइनसँग ३०–८ ले पराजित भयो । यो जितसँगै सनसाइनले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।
लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको छ । ती विद्यालयबाट छात्रतर्फ १३ र छात्रातर्फ १२ गरी २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । केही विद्यालयले छात्र र छात्रातर्फ एकभन्दा बढी टोलीसमेत सहभागी गराएका छन् । प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन् ।
बास्केटबलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ ।
