काठमाडौं । जोन डेवी अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगितामा सोमबार ५ टिम च्याम्पियन बनेका छन् । बास्केटबलमा २ तथा फुटसलमा ३ टिमले उपाधि जिते । बास्केटबलको ब्वाइजमा न्युटन तथा गर्ल्समा बौद्ध चिल्ड्रेन हेभेन स्कुल पहिलो भए ।
फुटसलको यु–१२ ब्वाइजमा राई स्कुल, यु–१६ ब्वाइजमा काष्ठमण्डप विद्यालय र यु–१६ गर्ल्समा आयोजक जोन डेवी स्कुलले शीर्ष स्थान हात पारे । चक्रपथस्थित आयोजक जोन डेवीको कोर्टमा भएको ब्वाइज बास्केटबल फाइनलमा न्युटनले मातृभूमिलाई ५५–४१ ले पराजित गर्यो ।
न्युटनका आशिष राईले २० अंक जोडे । गर्ल्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन बौद्धले भ्याली पब्लिकलाई ३८–३६ ले हराउदै उपाधि रक्षा गर्यो । बौद्धकी गयुल शेर्पाले १४ स्कोर गरिन् ।
ब्वाइजमा न्युटनका युनिक कार्की ‘मोस्ट भेलुएबल प्लेयर’, मातृभूमिका सक्षम महर्जन उत्कृष्ट ‘थ्री प्वाइन्टर’, विल्सन एकेडेमीका रेहान डंगोल सर्वाधिक स्कोरकर्ता र न्युटनका नारायण खवास उत्कृष्ट प्रशिक्षक बने ।
गर्ल्समा बौद्धकी गयुल शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’, मातृभूमिकी समाइराह श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’, भ्याली पब्लिककी सोनीमाया तामाङ सर्वाधिक स्कोरकर्ता र बौद्धका रवि चालिसे उत्कृष्ट प्रशिक्षक भए।
फुटसलको यु–१२ ब्वाइज फाइनलमा राई स्कुलले जोन डेवीलाई १–० गोलले पाखा लगायो । राई स्कुलका रिहानकुमार श्रेष्ठले निर्णायक गोल गरे । यु–१६ ब्वाइजको फाइनलमा काष्ठमण्डपले ग्यालेक्सी पब्लिक स्कुललाई ३–० गोलले पन्छायो ।
काष्ठमण्डपका ग्रिस घिमिरे, सहज ढकाल र अध्ययन शेरचनले समान १–१ गोल गरे । गर्ल्सको उपाधि भिडन्तमा जोन डेवीले ग्यालेक्सीमाथि २–० को जित दर्ता गर्यो । जोन डेवीकी रियान्सी त्रिपाठीले दुवै गोल गरिन् ।
यु–१२ ब्वाइजमा जोन डेवीका शुभवीर ब्लोन उत्कृष्ट खेलाडी, चेल्सी वल्र्ड स्कुलका रायन श्रेष्ठ सर्वाधिक गोलकर्ता (१० गोल), राई स्कुलका इसाक राणा उत्कृष्ट गोलरक्षक र राईकै मिलन गोले उत्कृष्ट प्रशिक्षक भए ।
यु–१६ ब्वाइजमा काष्ठमण्डपका सहज ढकाल उत्कृष्ट खेलाडी, ग्यालेक्सीका प्रवेश भण्डारी सर्वाधिक गोलकर्ता (१२ गोल), काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलरक्षक र काष्ठमण्डपकै सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक बने ।
यु–१६ गर्ल्समा डिभिसा शर्मा उत्कृष्ट खेलाडी, रियान्सी त्रिपाठी सर्वाधिक गोलकर्ता (१६ गोल), रुस डि कोस्टर उत्कृष्ट गोलरक्षक र सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक भए । चारै जोन डेवीकाका हुन् ।
यु–१२ ब्वाइजमा युरो स्कुल, छाउनी, यु–१६ ब्वाइजमा डाफोडिल बोर्डिङ स्कुल र यु–१६ गल्र्समा कोहिनूरले अनुशासित टिमको ट्रफी हात पारे । विजेतालाई राष्ट्रिय महिला फुटबल टोलीकी हीराकुमारी भुजेल, जोन डेवीकी प्रिन्सिपल उर्वसी सुब्बालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
