काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा पाँचौं संस्करणको यु–१२ मिनि बास्केटबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा छात्र र छात्रातर्फ गरी कुल २१ स्कुलको सहभागिता रहनेछ । लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिता करिब एक साता चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफी प्राप्त गर्नेछ ।
बास्केटबललाई ग्रासरुट तहबाटै विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका प्राविधिक प्रमुख प्रेमसुन्दर होनाका अनुसार प्रत्येक टोलीका एक खेलाडीले बढीमा दुई क्वाटर मात्रै खेल्न पाउने व्यवस्था गरिएको छ । यसले सबै खेलाडीलाई खेल्ने अवसर प्रदान गर्ने आयोजकको उद्देश्य छ ।
प्रतियोगिताको खेलतालिका बुधबार सार्वजनिक गरिएको थियो । बाल दीक्षा सदनका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद रेम्मी, प्रधानाध्यापक शिवशंकर आले, ईसीए इन्चार्ज संजोक थापा तथा प्रतियोगिताका प्राविधिक प्रमुख प्रेमसुन्दर होनाको उपस्थितिमा खेलतालिका सार्वजनिक गरिएको हो ।
