बिच भलिबलमा नेपाललाई रजत पदक

२०८३, २२ भाद्र सोमबार ०९:४५

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबलको महिलातर्फ नेपालले रजत पदक जितेको छ ।

आइतबार भुटानको थिम्पुमा भएको फाइनलमा नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ ।

आइतबार भएको फाइनल खेलमा भारतका दीपिका–पवित्रा जोडीसँग पराजित भएपछि सुनिता र भावनाको जोडीले रजत पदकमा चित्त बुझाएको हो ।

पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेको नेपाली टोलीले दोस्रो र तेस्रो सेट गुमाउँदै स्वर्ण पदक जित्नबाट बञ्चित भएको थियो । भारतीय टोलीले दोस्रो सेट २१–१५ र तेस्रो सेट १५–५ ले जित्दै स्वर्ण पदक हात पारेको थियो ।

नेपालका कमला पुन र कोपिला रानाको जोडी सेमिफाइनलमा भारतका दीपिका–पवित्राकै जोडीसँग पराजित भएको थियो ।

पुरुषतर्फको उपाधि भने श्रीलंकाले जित्न सफल भयो । नेपालबाट महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमनसिंह दर्जी र शरण कार्कीको जोडीले सहभागी भए पनि सेमिफाइनलसम्म पुग्न सकेनन् ।

प्रतियोगितामा नेपालको दुई महिला र दुई पुरुष टोलीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *