काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण सुपर किंग्सले दोस्रो जित निकालेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा अन्नपूर्ण सुपर किंग्सले मधेश वारियर्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–१६ ले जितेको अन्नपूर्ण सुपर किंग्सले दोस्रो सेट भने मधेश वारियर्सलाई २९-३१ ले सुम्पिएको थियो । तर, तेस्रो सेटमा २५-२२ को जित निकाल्दै अग्रता लिएको अन्नपूर्ण स्पाइकर किंग्सले चौथो सेट २५-२१ ले जितेको हो । लिगमा दोस्रो खेलमा अन्नपूर्ण सुपर किंग्सको यो पहिलो जित हो ।
यसअघि अन्नपूर्ण स्पाइकर किंग्सले आइतबार काठमाडौं रेड्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । अन्नपूर्ण किंग्स आफ्नो पहिलो खेलमा भने कर्णाली शिवराजसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।
मधेश वारियर्सको भने लिगमा यो तेस्रो हार हो । यसअघि मधेश वारियर्स पहिलो खेलमा सगरमाथा र दोस्रो खेलमा काठमाडौं रेड्ससँग पराजित भएको थियो ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् ।
लिगमा शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।
नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनामा भइरहेको प्रतियोगिताको फाइनल भदौ २८ मा हुनेछ।
