काठमाडौँ । नेपाल ट्रायथलन संघले शनिबार नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा बसेको सो साधारण सभामा संस्थाका मानार्थ अध्यक्ष गणेशमान पुन प्रमुख अतिथि र संस्थापक अध्यक्ष विश्वशंकर पालिखे विशेष अतिथि रहेका थिए ।

संघका अध्यक्ष श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुदमा ट्रायथलनलाई समावेश नगर्दा र आगामी एसियाली खेलकुदमा पनि यो खेल नपर्दा दुःख व्यक्त गरे । जापानको आइची नागोयामा हुने एसियाली खेलकुदमा ट्रायथलन टेक्निकल अफिसरको रुपमा चाहना शाह र पुष्परत्न वज्राचार्य मात्र सहभागी हुँदैछन् । अध्यक्ष श्रेष्ठले सुर्खेतमा हुने राष्ट्रिय खेलकुदमा भने ट्रायथलनलाई ‘लेट’ इन्ट्री दिलाउन प्रयास भइरहेको बताए । उनले भने– यसअघिका राष्ट्रिय खेलकुदमा ट्रायथलन सँधै सहभागी भइरहेको तर आगामी राष्ट्रिय खेलकुदमा प्राविधिक कारण भन्दै ट्रायथलनलाई समावेश नगर्दा हामीलाई दुःख लागेको छ । तर हामी सम्बन्धित पक्षहरुसँग छलफल गर्दैछौँ । सरोकारवालाहरु ट्रायथलनलाई राष्ट्रिय खेलकुदमा समावेश गर्नेमा सकारात्मक छन् ।

सो साधारण सभामा विश्व ट्रायथलन संघका अध्यक्ष एन्टोनियो एरिमानीले भिडियो सन्देश पठाएका थिए । उनले शुभकामना सन्देशमा हालै बाढिपहरोको प्रकोपमा परेको नेपालप्रति सहानुभूति व्यक्त गर्दै विश्व ट्रायथलन संघ यस दुःखद घडीमा नेपालको साथमा छ भनी एक्यवद्धता जनाए। नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले बाढीपिडतको सहयोगका लागि वल्र्ड ट्रायथलन संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।

साधारण सभामा ट्रायथनल सघका महासचिव युवराज सुनारले वार्षिक कार्यक्रम र योजना तथा कोषाध्यक्ष निरज श्रेष्ठले आर्थिक वर्षको आयव्यय प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *