सन् २०२६ को फिफा विश्वकपको फाइनलमा स्पेनले ७४औँ मिनेटमा निको विलियम्सलाई मैदानमा उतारेको थियो, उनी सुरुवाती ११ खेलाडीमा समावेश थिएनन् ।

फिफा विश्वकपमा विंगरका रूपमा खेल्दै मैदानमा प्रवेश गरेलगत्तै विलियम्सले स्पेनका लागि गोल गर्ने धेरै अवसरहरू सिर्जना गरिदिए । उनले गोल पनि गरेका पनि थिए तर आफ्नै टोलीका एक खेलाडीले गरेको ‘फाउल’ का कारण उक्त गोललाई रेफ्रेली भने मान्यता दिएनन् ।

खैर केही छैन, अतिरिक्त समयको दोस्रो हाफमा मैदानबाहिर जान लागेको बललाई विलियम्सले उत्कृष्ट ‘हेडर’ मार्फत आफ्ना सह खेलाडी फेरान टोरेससम्म पुर्‍याए । टोरेसले उक्त बललाई जाली चुमाए । यससँगै स्पेनले अर्जेन्टिना विरुद्ध अग्रता लियो र अन्ततः फिफा विश्वकपको फाइनल खेल दोस्रो पटक १–० ले जित्यो ।

स्पेनको जित पछि सबै खेलाडीले आ आफ्ना पदक प्राप्त गरे। फाइनल खेलको एकमात्र गोलका लागि ‘असिस्ट’ गरेका निको विलियम्सले आफ्नो पदक दर्शक दीर्घामा बसेकी आफ्नी आमाकहाँ लगे । उनले आमालाई पदक हस्तान्तरण गरे र आमाले त्यो पदक आफ्नो घाँटीमा लगाइन्, उनी अत्यन्तै खुसी भएकी थिइन् । यो दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको पनि छ । 

निको विलियम्सको जन्म स्पेनमा भए पनि उनी घानाली मूलका हुन् । उनकी आमा मारिया र बुबा फेलिक्सले आजको अवस्थासम्म आइपुग्न निकै संघर्ष गरेका थिए । सन् १९९३ मा मारिया र फेलिक्स आफ्नो गृहदेश घानाबाट युरोपतर्फ लागेका थिए । उनले आफ्नो परिवारका लागि अझ राम्रो जीवन निर्माण गर्ने सपना देखेका थिए । यसै उद्देश्यका लागि उनले मानव तस्करहरूलाई हजार डलरसमेत बुझाएर सहारा मरुभूमि पार गर्ने प्रयास गरेको इतिहास रहेको छ । तर, त्यो यात्रा अत्यन्तै कष्टकर साबित भयो, बाटोमै उनलाई ट्रकबाट ओर्लन बाध्य पारियो र उनले खाना वा पानी बिना नै मरुभूमिमा कयौं दिन हिडेर पार गर्नु परेको थियो ।

त्यतिबेला मारिया उनीहरूको पहिलो सन्तान यानीकी (निकोका दाजु) लाई गर्भमा बोकेकी थिइन् । यस्तो अवस्थामा पनि उनीहरू स्पेनको मेलिला क्षेत्रसम्म पुग्न दिनौँ सम्म हिँडे । आवश्यक कानुनी कागजात नभएकाले त्यहाँ पुग्ने बित्तिकै उनीहरू पक्राउ परे र उनीहरूलाई फिर्ता पठाउने (डिपोर्ट गर्ने) तयारी भइरहेको थियो । ठीक त्यही बेला एक वकिलले उनीहरूलाई सहयोग गर्न अग्रसरता देखाए । ती वकिलले उनीहरूलाई घानाको सट्टा लाइबेरियाको नागरिकता दाबी गर्न सुझाव दिएका थिए किनभने त्यस समयमा लाइबेरियामा गृहयुद्ध चलिरहेको थियो र यो तथ्यले उनीहरूको मुद्दामा मद्दत पुर्‍याउन सक्थ्यो ।

फेलिक्सका अनुसार लामो समय सम्म तातो बालुवामा हिँडेका कारण उनका पाइतालाहरूमा आज पनि दुखाइ महसुस हुन्छ । स्पेनमा बस्ने अनुमति पाए पछि निकोका आमाबुवा बास्क क्षेत्रमा पुगे, जहाँ इनाकी नामका एक चर्चका पादरीले उनीहरूलाई सहयोग गरे । त्यस दम्पतीले आफ्नो जेठा छोराको नाम इनाकी राखिदिए । तर, निको विलियम्सको जन्म सन् २००२ मा स्पेनमा नै भएको थियो । निकोझैँ इनाकी पनि एक फुटबल खेलाडी हुन्, यी दुवै दाजुभाइ एउटै स्पेनिस क्लब एथलेटिक बिल्बाओका लागि खेल्छन् ।

निको विलियम्ससँगै इनाकी विलियम्सले पनि सन् २०२६ को फिफा विश्वकप खेलेका थिए । इनाकी घानाको टोलीमा समावेश थिए । उनले सन् २०१६ मा स्पेनका लागि डेब्यु गरेका थिए तर पर्याप्त अवसर नपाए पछि सन् २०२२ मा घानाका लागि खेल्ने निर्णय गरे । इनाकीले एथलेटिक बिल्बाओका लागि ५१० खेल खेल्दै ११४ गोल गरेका छन् । उनी सन् २०१४ देखि यस क्लबमा आबद्ध छन् । निको सन् २०२१ देखि क्लबका लागि खेल्दै आएका छन् र उनले १९९ खेलमा ३७ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *