फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हालै सम्पन्न ४८ टिमको विश्वकप २०२६ लाई ठूलो सफलता भनेका छन् । उनले यो विस्तारित स्वरूपले विश्वभरका टिमहरूलाई अवसर दिएको र खेलको स्तर उकासिएको बताएका छन् ।

इन्फान्टिनोले स्विस मिडिया ब्लुविनसँगको अन्तर्वार्तामा ४८ टिमको यो विश्वकप ठूलो सफलता रहेको बताए । हरेक टिमले उच्च स्तरको प्रदर्शन गरेको , हरेक महादेशबाट टिमहरूले गोल गरेको र कम्तीमा एक अंक कमाएको बताए ।

उनले विश्वकप युरोप र दक्षिण अमेरिकाका लागि मात्र नभई सारा विश्वका लागि रहेको बताए । उनले भने ‘ हरेक राष्ट्रलाई विश्वकपमा भाग लिने सपना देख्ने अधिकार हुनुपर्छ ।” उनले साना राष्ट्रहरूलाई अवसर नदिँदा उनीहरूको विकासमा बाधा पुग्ने पनि बताए ।

इन्फान्टिनोले २०३० को विश्वकपलाई ६४ टिम बनाउने प्रस्तावलाई गम्भीर रूपमा छलफल गरिने बताएका छन् । “यो विषय यो विश्वकपपछि सम्बन्धित समितिमा छलफल हुनेछ,” उनले भने ।

यो प्रस्ताव सुरुमा दक्षिण अमेरिकी फुटबल महासंघ (कनमेबोल) ले ल्याएको थियो, जसलाई २०३० को शताब्दी संस्करणलाई विशेष बनाउन खोजिएको हो ।

६४ टिमको विश्वकपको कनमेबोल मुख्य समर्थक हो । इन्फान्टिनोले पनि सार्वजनिक रूपमा “हरेक विचार राम्रो हुन्छ र छलफल गर्नुपर्छ” भन्दै खुलापन देखाएका छन् । साना फुटबल राष्ट्रहरू र विकासशील महादेशका टिमहरूले पनि यसलाई स्वागत गरेका छन् ।

युरोपेली फुटबल महासंघ (युइएफए) ले यसको घोर विरोध गरेको छ । उनीहरूका अनुसार ६४ टिमले खेलको गुणस्तर घटाउँछ, धेरै एकपक्षीय खेलहरू हुन्छन् र व्यवसायिक मोडेलमा असर पार्छ । एसियाली फुटबल महासंघ (एएफसी) मा पनि ठूलो आशंका छ ।

२०२६ को ४८ टिमको विश्वकपको सफलतापछि २०३० मा थप विस्तारको सम्भावना जीवित छ तर यो अझै अनिश्चित छ । फिफा काउन्सिलले सबै सदस्यहरूसँग छलफल गरेर मात्र निर्णय लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *