फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप २०२६ को फाइनल खेल सकिएपछि पनि आम्दानी गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । फाइनलमा प्रयोग हुने प्राकृतिक घाँसका वास्तविक टुक्रालाई विशेष स्मारिका (सुभेनिर)का रूपमा बिक्री गर्ने घोषणा गर्दै फिफाले यसबाट ११ मिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ ।

अमेरिकी सञ्चारमाध्यम द एथलेटिकका अनुसार स्मारिकाको सुरुआती मूल्य ४४५ अमेरिकी डलर तोकिएको छ भने सबैभन्दा महँगो संस्करणको मूल्य ४,३०० अमेरिकी डलर (करिब ५ लाख ९० हजार रुपैयाँ) हुनेछ । यी स्मारिकामा फाइनलमा प्रयोग गरिएको वास्तविक मैदानको सानो भाग प्रिमियम एक्रिलिक केसमा सुरक्षित राखिनेछ । साथै, प्रामाणिकता पुष्टि गर्ने विशेष चिन्ह र आकर्षक प्याकेजिङसमेत रहने फिफाले जनाएको छ ।

फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ, जसलाई प्रतियोगिताका लागि ‘न्यु जर्सी न्युयोर्क स्टेडियम’ नाम दिइएको छ । सामान्यतया कृत्रिम सतह प्रयोग हुने यो रंगशालामा विश्वकपका लागि विशेष रूपमा प्राकृतिक घाँस बिछ्याइएको हो । यद्यपि प्रतियोगिताका क्रममा मैदानको गुणस्तरबारे केही खेलाडी र प्रशिक्षकले असन्तुष्टि व्यक्त गरेका थिए ।

सबैभन्दा महँगो प्याकेजमा ३×३ इन्चको घाँसको टुक्रासँगै सुनले कुँदिएको प्रतिकृति टिकट, विश्वकप बलको सानो प्रतिकृति र क्रिस्टलबाट बनेको ट्रफीको प्रतिकृति पनि समावेश हुनेछ । हाल यी स्मारिका अमेरिका र युरोपका ग्राहकका लागि मात्र उपलब्ध हुनेछन् भने विश्वकप फाइनल सम्पन्न भएपछि मात्र डेलिभरी गरिने फिफाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *