काठमाडौं । भ्याली पब्लिक हाइ स्कुलको आयोजनामा पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको भ्याली पब्लिककी सह–संस्थापक सुनिता विष्ट अधिकारी र भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।
पहिलो दिन यु–१६ ब्वाइजमा बागमीतले थ्री स्टारलाई २–०, एआईएले बागमतीलाई ४–१, एलआरआईले बोधी सदनलाई ४–१, टिम आश्रमले ब्लुम नेपाललाई २–०, वेद्व्यासले बोधी सदनलाई ३–०, थ्री स्टारले एआईएलाई ३–०, कौस्तुभ एकेडेमीले सनराइजलाई ३–१, भ्याली पब्लिकले बाल विकासलाई ५–१, ब्लुम नेपालले युनाइटेड स्कोलर्स एकेडेमीलाई २–० र ग्यालेक्सी पब्लिक स्कुलले कौस्तुभलाई ३–२ गोलले पराजित गरे ।
त्यस्तै, भ्याली पब्लिक र मार्वलसले १–१, बाल विकास र मार्वलसले १–१, युनाइटेड र टिम आश्रमले १–१, वेद्व्यास र एलआरआईले १–१ तथा ग्यालेक्सी र सनराइजले १–१ गोलको बराबरी खेले । यु–१६ गल्र्समा एनबीएफएले भीएस निकेतनलाई २–० तथा प्याराडाइस रिडर्सले एनबीएफएलाई १–० र काठमाडौं इन्टरनेसनल स्कुललाई ५–० गोलले हराए ।
काठमाडौं इन्टरनेसनल स्कुल र एनबीएफ तथा काठमाडौं इन्टरनेसनल र भीएस निकेतनले गोलरहित बराबरी खेले । यु–१६ सिनियर ब्वाइजमा २६, यु–१६ सिनियर गल्र्समा १६ र यु–१२ जुनियर ब्वाइजमा १६ टिम सहभागी छन् ।
विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिने छ । फाइनल साउन १९ गते हुनेछ ।
