विराटनगर जेनिथ इन्टरनेशनल कलेजका बीबीए छैटौं सेमेस्टरका विद्यार्थीहरूले ‘कर्पोरेट गभर्नेन्स’ विषयअन्तर्गतको परियोजना कार्यका रूपमा आयोजना गरेको इन्टर कलेज प्लस–टु फुटसल प्रतियोगिता–२०२६ को उपाधि कान्तिपुर कलेजले जितेको छ ।
बिराटनगर सिटी फुटबल क्लब (बीसीएफसी) को सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा कान्तिपुर कलेजले एरागोन कलेजलाई पराजित गर्दै उपाधि हात पारेको हो । विजेता कान्तिपुर कलेजले नगद २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता एरागन कलेजले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो ।
प्रतियोगितामा कान्तिपुर कलेज, बीकेभीएम, एरागन कलेज, आदर्श माध्यमिक विद्यालय, सत्कार कलेज, अर्किड कलेज, सरस्वती माध्यमिक विद्यालय र सेन्ट जोसेफ प्लस–टु गरी आठ शैक्षिक संस्थाको सहभागिता थियो ।
समापन समारोहका प्रमुख अतिथि प्रा. डा. सन्देश दास श्रेष्ठ रहेका थिए । कार्यक्रममा जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा. डा. दुर्गानन्द चौधरी, क्याम्पस प्रमुख सन्दीप दास श्रेष्ठ तथा आईक्यान कोशी प्रदेशका अध्यक्ष अश्विनी बंशलको उपस्थिति थियो ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने सात खेलका ‘म्यान अफ द म्याच’ खेलाडीलाई जनही १ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ । पहिलो खेलमा जेनिश लामिछाने, दोस्रोमा रिजन शिवाकोटी, तेस्रोमा जेनिथ कार्की, चौथोमा समीर बस्नेत, पाँचौंमा अविनाश मण्डल, छैटौंमा श्रवण कामत र फाइनलमा प्रकाश ताटी ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) आयुष तामाङ घोषित भए। उनले क्यालिबर सुजद्वारा प्रायोजित विशेष पुरस्कार प्राप्त गरे । विद्यार्थीहरूलाई नेतृत्व, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
