फुटबलको महासंग्राममा आउँदो बुधबार स्पेन र फ्रान्सबीच सेमिफाइनलको अत्यन्तै रोमाञ्चक भिडन्त हुँदैछ । यसैबीच, स्पेनका युवा तथा प्रतिभाशाली स्ट्राइकर लामिन यमालले आफ्नो प्रतिद्वन्द्वी फ्रान्सलाई सानदार तरिकाले चेतावनी दिएका छन् ।

बेल्जियमलाई पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेको स्पेन अहिले उच्च मनोबलमा छ । फ्रान्ससँगको खेलबारे कुरा गर्दै यमालले आफ्नो मनमा रत्तिभर पनि डर नभएको बताए । उनले आत्मविश्वासका साथ भने, “यदि फ्रान्सले यो प्रतियोगितामा कसैसँग डराउनुपर्छ भने, त्यो टोली हामी नै हौँ !”

उनले आफ्नो टोलीको रणनीतिबारे प्रस्ट पार्दै थपे, “कहिलेकाहीँ बाहिरबाट हेर्दा हामीले सोचेजस्तो राम्रो नखेलेको जस्तो लाग्न सक्छ, तर सत्य के हो भने हामीसँग कभिड्दा हरेक टोली रक्षात्मक बन्न बाध्य हुन्छन् ।”

फ्रान्स र स्पेनलाई प्रतियोगिताकै दुई उत्कृष्ट टोली मान्दै यमालले विगतका मीठा सफलताहरू पनि स्मरण गराए। उनले मुस्कुराउँदै भने, “हामीले उनीहरूलाई पहिले पनि प्रतियोगिताबाट बाहिर पठाइसकेका छौँ, दुई पटक त हराइसकेका नै छौँ । इमानदार भएर भन्नुपर्दा, मलाई लाग्छ हामी दुवै टोली उत्कृष्ट हौँ । त्यसैले मैदानमा जे पनि हुन सक्छ, तर हाम्रो मनमा भने कुनै डर छैन ।”

युरो कप २०२४ र नेसन्स लिग २०२५ को सेमिफाइनलमा फ्रान्सलाई निराश पार्दै फाइनल पुगेको स्पेनको लक्ष्य अहिले पनि उस्तै छ । यमालले आफ्नो उत्साह पोख्दै अन्त्यमा भने, “सेमिफाइनलसम्मको यो यात्राले हामी निकै खुसी छौँ। हामी यहाँ लामो समयदेखि डटेर लागेका छौँ र हाम्रो अन्तिम लक्ष्य भनेको फाइनलसम्मै पुग्ने हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *