स्पेनिस फुटबल टोलीका चर्चित फरवार्ड फेरन टोरेस मैदानभित्र आफ्नो उत्कृष्ट प्रदर्शनका कारण चर्चामा त रहन्छन् नै, उनको व्यक्तिगत जीवन र ‘लभ लाइफ’ ले पनि समर्थकहरूको ध्यान उत्तिकै तान्ने गरेको छ। खेल जीवनमा सफलताको शिखर चुमिरहेका टोरेसको प्रेम सम्बन्ध र ब्रेकअपको कथा निकै चाखलाग्दो छ ।

प्रशिक्षककी छोरीसँग बसेको थियो माया

टोरेसको नाम स्पेनिस टोलीका पूर्व मुख्य प्रशिक्षक लुइस इनरिकेकी छोरी सीरा मार्टिनेजसँग जोडिएपछि फुटबल वृत्तमा ठूलो चर्चा चलेको थियो । सीरा आफैँमा एक स्थापित र चर्चित घोडचढी (इक्वेस्ट्रियन) हुन् ।

उनीहरू धेरै पटक सार्वजनिक कार्यक्रम र उत्सवहरूमा सँगै देखिएका थिए । बार्सिलोनामा बिताएका पलहरू र ‘प्रीमियर प्याडेल टुर फाइनाल्स’ जस्ता कार्यक्रमहरूमा उनीहरूको उपस्थिति देखेपछि समर्थकहरूले उनीहरूको सम्बन्धलाई चासोका साथ हेर्न थालेका थिए । रोचक कुरा के थियो भने, तत्कालीन समयमा सीराका पिता लुइस इनरिके नै स्पेनिस राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक थिए । तर, टोरेस र सीराको सम्बन्धबाट इनरिकेलाई कुनै आपत्ति थिएन ।

करियरलाई प्राथमिकता दिँदै ब्रेकअप

लामो समय चर्चामा रहेको यो जोडीको सम्बन्ध धेरै टिकाउ भने हुन सकेन । सन् २०२३ को मे महिनामा दुवैले आपसी सहमतिमा छुट्टिने निर्णय गरे ।

मिडिया रिपोर्टका अनुसार दुवैले आ-आफ्नो खेल करियरलाई पहिलो प्राथमिकता दिनका लागि ब्रेकअप गरेका थिए । सीरा घोडचढीमा आफ्नो भविष्य अझ उज्ज्वल बनाउन चाहन्थिन् भने टोरेस फुटबलमा आफ्नो पकड थप मजबुत बनाउन केन्द्रित थिए । यही व्यस्तता र करियरको प्राथमिकताका कारण दुवैले अलग हुने बाटो रोजेका थिए ।

ब्रेकअपपछिको जीवन

सीरासँग अलग्गिएपछि टोरेसको नाम सामाजिक सञ्जाल इन्फ्लुएन्सर मार्टिना हन्टरसँग जोडियो । यद्यपि, दुवै पक्षबाट यसको आधिकारिक पुष्टि भने भएन ।

अहिले अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरूका अनुसार टोरेसको जीवनमा नयाँ पार्टनरका रूपमा लुसिया डोमेनेकको प्रवेश भएको बताइएको छ । यसबारे टोरेस आफैँले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

मैदानमा आफ्नो उत्कृष्ट खेलले टोलीलाई जित दिलाउन माहिर टोरेसको व्यक्तिगत जीवन भने सधैँझैँ समर्थक र मिडियाका लागि चासोको विषय बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *