इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले अर्जेन्टिना विरुद्धको खेलमा आफूहरू विरुद्ध अन्याय भएको बताएका छन् । विश्वकपको प्रि-क्वार्टरफाइनलमा अर्जेन्टिनासँग ३-२ को गोल अन्तरले पराजित भएपछि हसनले यस्तो गम्भीर आरोप लगाएका हुन् ।
हसनले साविक विजेता अर्जेन्टिना र लियोनेल मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न ‘मार्केटिङ सपोर्ट’ (व्यापारिक फाइदाका लागि सहयोग) गरिएको र आफ्नो टोलीले “अन्यायपूर्ण हार” बेहोर्नुपरेको दाबी गरे ।
हसनले भने, “हामीले एउटा अन्यायपूर्ण हार भोग्नुपर्यो। विश्व विजेता (अर्जेन्टिना) लाई हरेक तर्फबाट सहयोग भइरहेको छ— विशेषगरी मार्केटिङ सपोर्ट । उनीहरू साविक विश्व विजेतालाई प्रतियोगितामै राखिराख्न चाहन्थे । उनीहरू मेस्सी अगाडि बढून् भन्ने चाहन्थे ।”
आफ्नो टोली अर्जेन्टिनाभन्दा उत्कृष्ट खेलेको दाबी गर्दै उनले फ्रान्सेली रेफ्रीका निर्णयप्रति कडा आपत्ति जनाए ।
“आज हामीलाई अन्यायपूर्ण तरिकाले ठगियो, हामीमाथि ठूलो अन्याय भएको छ । खेलमा कुनै सम्मान वा फेयर प्ले देखिएन । हाम्रो एउटा पेनाल्टी दिइएन र अर्को घटनामा भिएआर (VAR) ले जाँच समेत गर्न आवश्यक ठानेन । साथै, हाम्रो दोस्रो गोललाई पनि अनौठो कारण देखाउँदै रद्द गरियो,” उनले थपे ।
