धरान । तेस्रो पञ्च बहादुर राई स्मृति कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बिष्णुपादुका फुटबल क्लब (बी) ले हात पारेको छ ।
आइतबार भएको फाइनलमा देवीगाउँ फुटबल क्लबलाई टाईब्रेकरमा ४-२ ले पराजित गर्दै बिष्णुपादुकाले उपाधि चुमेको हो ।
उपाधिसँगै बिष्णुपादुकाले नगद २५ हजार, मेडल, कप र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देवीगाउँले नगद १५ हजारसहित ट्रफी, मेडल र कपमा चित्त बुझायो ।
फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । निर्धारित समयमा बिष्णुपादुकाका लागि नवराज तामाङले गोल गरेका थिए भने देवीगाउँका लागि संगम राईले गोल गरेका थिए ।
फाइनल खेलको म्यान अफ दि म्याच बिष्णुपादुकाका नवराज तामाङ भए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पनि बिष्णुपादुकाकै सुरज तामाङ, उत्कृष्ट डिफेन्डर देवीगाउँका अनिश बिक, राईजिङ प्लेयर बिष्णुपादुकाका सत्य राई, सर्वाधिक गोलकर्ता देवीगाउँका बिकास राई तथा सर्वोत्कृष्ट खेलाडी बिष्णुपादुकाका निरज लिम्बु घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्याल लगायतले पुरस्कृत गरेका थिए । बिष्णुपादुका फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल १३ क्लबको सहभागिता रहेको थियो ।
