काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२६ को अवसरमा काठमाडौँको मण्डिखाटारमा जुनियर टेनिस प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

नेपाल ओलम्पिक कमिटीको समन्वयमा आयोजित उक्त विशेष खेलकुद कार्यक्रममा कूल ३६ जना बालबालिकाहरूले उत्साहजनक सहभागिता जनाएका थिए । सो अवसरमा उत्कृष्ट प्रदर्शन गर्दै जुनियर खेलाडी निम्ति कुँवर प्रतियोगिताको विजेता बन्न सफल भइन् ।

प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल ओलम्पिक कमिटी (एनओसी) की उपाध्यक्ष ज्योति राणा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । कार्यक्रममा प्रमुख अतिथि राणासहित काठमाडौँ जिल्ला टेनिस एसोसिएसनका अध्यक्ष प्रवीण वैद्य, पूर्व अध्यक्ष मनोज राणा तथा पूर्व राष्ट्रिय खेलाडी मल्लिका राणा लगायतका खेलकुद क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

साथै, अतिथि र प्रवर्द्धकका रूपमा पूर्व श्रम तथा खानेपानी मन्त्री राजेन्द्र भण्डारीको समेत विशेष उपस्थिति रहेको थियो ।

समारोहमा प्रमुख अतिथि ज्योति राणा लगायतका अतिथिहरूले विजेता निम्ति कुँवर तथा अन्य सहभागी सम्पूर्ण बाल खेलाडीहरूलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को आधिकारिक प्रमाणपत्र र खेलकुद सामग्रीहरू वितरण गरे ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न व्यावसायिक संस्थाहरूले मुख्य प्रायोजन तथा सहयोग गरेका थिए । जसअन्तर्गत खेलकुद सामग्रीको व्यवस्थापन गृह मण्डेखाटारले गरेको थियो भने सहभागी तथा अतिथिहरूका लागि खाजा तथा फूड स्पोन्सरका रूपमा बेस्ट वेस्टर्न मायाज  रहेको थियो ।

त्यस्तै, खेल अवधिभर आवश्यक पानी तथा जुस लगायतका पेय पदार्थहरूको व्यवस्थापन पनि विभिन्न सहयोगीहरूबाट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *