हानामी तेस्रो चितवन गोल्डकप फुटबलको उपाधि एप्पल गुरु सूर्यपुर एफसी कालिकाले जितेको छ ।

शनिबार नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा भएको फाइनल खेलमा आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लाई २-० गोलअन्तरले पराजित गर्दै सूर्यपुरले उपाधि हात पारेको हो ।

सूर्यपुरलाई उपाधि दिलाउन लक्षु थापा र अविनास स्याङताङ्गले समान एक-एक गोल गरे । खेलको ७३औं मिनेटमा लक्षुले गोल गर्दै सूर्यपुरलाई सुरुआती अग्रता दिलाएका थिए ।

अतिरिक्त समयमा सूर्यपुरले पेनाल्टी प्राप्त गर्यो । बिएफसीका विवेक मगरले दिपेश गुरुङलाई बक्सभित्र लडाएपछि सूर्यपुरले पेनाल्टी पाएको थियो । प्राप्त पेनाल्टीमा अविनासले गोल गर्दै जित सुनिश्चित गरे ।

फाइनल खेलको म्यान अफ दि म्याच सूर्यपुरका लक्षु थापा भए । उनले नगद ५ हजार रुपैयाँ हात पारे ।

सूर्यपुरले उपाधिसँगै नगद ६ लाख रुपैयाँ र उपविजेता बिएफसीले नगद ३ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सूर्यपुरका अविनास स्याङताङ्ग घोषित भए । उनले नगद ४० हजार रुपैयाँ प्राप्त गरे । सूर्यपुरका विशाल सुनार उत्कृष्ट गोलकिपर, बिएफसीका विवेक मगर उत्कृष्ट डिफेन्डर, बिएफसीकै आकाश थापा मगर उत्कृष्ट मिडफिल्डर बने । यस्तै ४ गोल गरेका देवदह ब्वाईज रुपन्देहीका सुजित बुढाथोकी सर्वाधिक गोलकर्ता बने । उनीहरूले जनही १०-१० हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *