राजधानीमा जारी चौथो मण्डिखाटार जुनियर टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलहरुबाट विभिन्न उमेर समूहको फाइनल समीकरण पुरा भएको छ भने केही विधामा विजेताहरुको समेत टुंगो लागेको छ ।
मण्डिखाटार टेनिस क्लबको कोर्टमा भएको प्रतिष्पर्धामा आजै सम्पन्न खेलहरुबाट सोनम घले, अनाया श्रेष्ठ र स्वराह थापाले आ-आफ्नो विधामा उपाधि चुम्न सफल भएका छन् ।
यु-९ ब्वाइजतर्फको निर्णायक खेलमा सोनम घलेले सर्वज्ञ जंग खत्रीलाई ५-४, ४-१ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरे । त्यसैगरी, यु-९ गर्ल्सको प्रतिस्पर्धामा अनाया श्रेष्ठले वाणी राजभण्डारीलाई ४-२, ४-२ को नतिजामा पछि पार्दै विजेता बन्न सफल भइन् । यु-१६ गर्ल्सतर्फको रोमाञ्चक भिडन्तमा स्वराह थापाले एरा खत्रीलाई ७-६ (७-५), ७-५ को कडा प्रतिष्पर्धामा पन्छाउँदै स्वर्ण पदक पक्का गरिन् ।
यस्तै बिहीबार सम्पन्न यू-१० गर्ल्सको फाइनल भिडन्तमा निम्ती कुँवरले सफलता हात पारेकी थिइन् । उनले अमिरा गुप्तालाई सोझो सेटमा ६-२ र ७-५ ले पराजित गर्दै उपाधि आफ्नो नाममा गरिन् ।
शुक्रबार भएका अन्य उमेर समूहका खेलहरुमा भने फाइनलका प्रतिस्पर्धीहरुको टुंगो लागेको छ । यु-१८ ब्वाइजतर्फ शास्वत बज्राचार्य र असभ हाडाले फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
शास्वतले सुरेन्द्र बीकेलाई ३-६, ६-४, ६-२ को पुनरागमन सेटमा हराए भने असभले सांगय सी रोक्कायालाई ६-०, ६-१ को सहज सेटमा पाखा लगाए । असभ हाडाले यु-१६ विधामा पनि फाइनलको यात्रा तय गरेका छन्, जहाँ उनले विसव बी डल्लाकोटीलाई ६-२, ७-५ ले पराजित गरे । सोही उमेर समूहको अर्को फाइनलमा असभले आर्याश राज पौडेलको सामना गर्नेछन्, जसले सुरेन्द्र बीकेलाई ६-२, ७-५ ले नै पराजित गरेका हुन् ।
यु-१४ गर्ल्सको फाइनलमा सारा पन्त र स्वराह थापा भिड्ने भएका छन् । सेमिफाइनलमा साराले नाइरा सी घलेलाई ६-२, ६-१ तथा स्वराहले एरा खत्रीलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गरे । यु-१४ ब्वाइजतर्फ भने विसव बी डल्लाकोटी र आर्याश राज पौडेल फाइनलमा पुगेका छन्। विसवले आरित मल्ललाई ६-४, ६-३ र आर्याशले प्राथ्या रिजाललाई ६-३, ६-१ ले हराए ।
यु-१२ गर्ल्स विधामा सारा पन्त र नाइरा सी घलेबीच फाइनलमा प्रतिष्पर्धा हुनेछ। साराले आर्या पौडेललाई ६-२, ६-१ ले र नाइराले थेया श्रेष्ठलाई ६-१, ४-६, ६-१ ले पन्छाए । यु-१२ ब्वाइजतर्फ आरित मल्ल र सभ्य जंग कार्कीले उपाधिका लागि भेट पक्का गरेका छन् । आरितले विरल अग्रवाललाई ६-०, ६-० को ‘डबल ब्यागल’ मा पराजित गरे भने सभ्यले साहान्स बस्नेतलाई ६-१, ६-१ ले हराउँदै फाइनलको टिकट काटे । यसअघि सभ्यले सेमिफाइनलमा मार्कब पोखरेललाई ६-०, ६-१ ले पराजित गरेका थिए । प्रतियोगिता शनिबार समापन हुनेछ ।
