यु–२० राष्ट्रिय रग्बी हुने

२०८३, १३ असार शनिबार २१:३२

काठमाडौँ । शहिद स्मृति स्पोट्र्स एकेडेमीको आयोजनामा यही असार १५ र १६ गते (जुन २९ र ३० तारिख) देखि ’सहिद स्मृति राष्ट्रिय यु–२० पुरुष तथा महिला रग्बी च्याम्पियनसिप–२०२६“ सञ्चालन हुने भएको छ ।

ललितपुरको च्यासल रङ्गशालामा हुने यस प्रतियोगिता प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा आयोजना हुन लागेको हो ।

११ टोलीको सहभागिता, एसियन टुर्नामेन्टका लागि खेलाडी छनोट गरिने

नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेका अनुसार यस दुई दिने राष्ट्रिय प्रतियोगितामा देशभरबाट ६ वटा पुरुष टोली र ५ वटा महिला टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो प्रतियोगिता खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने सुवर्ण अवसर समेत बनेको छ । यसै प्रतियोगितामा प्रदर्शन गरेको खेलका आधारमा आगामी नोभेम्बर महिनामा मित्रराष्ट्र भारतमा आयोजना हुने ‘यु–२० एसियन रग्बी टुर्नामेन्ट’ का लागि नेपाली टोलीको छनोट (सेलेक्सन) गरिने महासचिव घिमिरेले जानकारी दिनुभयो ।

खेलकुद मन्त्रीले उद्घाटन गर्ने, काष्ठमण्डप टिभीबाट प्रत्यक्ष प्रसारण

प्रतियोगिताको भव्य उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले गर्नुहुने कार्यक्रम तय भएको छ । त्यस्तै, प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह एसिया रग्बीका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।

रग्बी प्रेमीहरूका लागि प्रतियोगिताको सम्पूर्ण खेलहरू काष्ठमण्डप टेलिभिजनमार्फत प्रत्यक्ष (लाइभ) प्रसारण गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मेडिकल पार्टनरको रूपमा भक्तपुर इन्टरनेशनल हस्पिटल रहेको छ, जसले खेलाडीहरूको स्वास्थ्य र प्राथमिक उपचारको व्यवस्थापन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *