काठमाडौं । सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता–२०८३’ सोमबारदेखि ललितपुरको च्यासल रंगशालामा सुरु भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा संचालित यस प्रतियोगिताको पहिलो दिन पुरुष र महिला दुवैतर्फ रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले मुख्य रेफ्री प्रेम बहादुर कोइरालालाई रग्बी बल हस्तान्तरण गर्दै गर्नुभयो । उद्घाटन समारोह सहिद स्मृति स्पोर्ट्स एकेडेमीका अध्यक्ष रन्जित तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आगामी नोभेम्बरमा भारतमा आयोजना हुने ‘यू–२० एसियन रग्बी प्रतियोगिता’का लागि नेपाली टोलीको छनोट समेत यसै प्रतियोगिताको प्रदर्शनका आधारमा गरिने नेपाल रग्बी संघका प्रबन्धक विराज काफ्लेले जानकारी दिनुभयो ।

खेल संयोजकको भूमिकामा बाग्मती रग्बी खेल संघका सचिव अनन्त प्रकाश श्रेष्ठ रहनुभएको छ भने प्रतियोगिताको स्वास्थ्य साझेदारका रूपमा भक्तपुर इन्टरनेशनल हस्पिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *