नेपालमा यसपालीको विश्वकप हिमालय स्पोट्र्स च्यानलबाट प्रसारण हुनेछ भने डिजिटलतर्फ डीगो एपमार्फत खेलहरूको स्ट्रिमिङ हुने छ ।
फिफाले नेपालका लागि एक्सक्लुसिभ अधिकार दिएका कारण विदेशी टेलिभिजन र स्ट्रिमिङ एपले नेपालभित्र प्रसारण गर्न पाउने छैनन् । नेपाली दर्शकहरूले तोकिएको शुल्क भुक्तानी गरेपछि विश्वकपका सबै १०४ खेल हेर्न पाउनेछन् ।
टिभी प्याकेजका लागि करसहित ९९९ रूपैयाँ शुल्क तोकिएको छ भने मोबाइल प्याकेजका लागि करसहित ५४९ तोकिएको छ । मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि पनि ९९९ रूपैयाँ शुल्क तिरे पुग्नेछ ।
कसरी बन्ने ग्राहक ?
ग्राहकले घरमै बसेर टिभी, मोबाइल वा ल्यापटपमा विश्वकपको रोमाञ्चक अनुभव लिन चाहँदा टेलिभिजनमा हेर्न डिजिटल टिभी (केबल, डीटिएच वा आइपिटिभी) प्रयोग गर्नेले टिभी स्क्रिनको क्युआर कोडमार्फत सब्स्क्राइब गर्न सक्नेछन् ।
त्यसका लागि टेलिभिजन खोलिसकेपछि च्यानल लिस्टमा गएर स्पोट्र्स सूचिभित्र हिमालय स्पोट्र्स एचडी च्यानल खोल्नुपर्नेछ ।
च्यानल खोलेपछि टेलिभिजन स्क्रिनमा देखिने क्युआर कोडलाई मोबाइल वालेटमार्फत स्क्यान गरी तुरुन्तै रकम भुक्तानी गर्न सकिनेछ ।
डिजिटल वालेट एपमार्फत पनि सब्स्क्राइब गर्न सकिने जनाइएको छ । त्यसका लागि ग्राहकले सिधै आफ्नो मोबाइलमा रहेको इसेवा वा खल्ती एप खोलेर इन्टरनेट वा टेलिभिजनको नियमित बिल तिरेजसरी टिभी सर्भिस प्रोभाइडर छानेर आफ्नो युजर आइडी हाल्नुपर्छ । त्यसपछि फिफा विश्वकप टिभी प्याकेज चयन गरि ९९९ भुक्तानी गर्नुपर्नेछ । भुक्तानी सफल भएपछि सब्स्क्रिप्सन सफल हुनेछ ।
फिफा विश्वकप टिभी प्याकेज प्रयोग गर्नका लागि तपाईंको डिजिटल टिभीको नियमित सब्स्क्रिप्सन सक्रिय हुन आवश्यक छ । टिभीको नियमित म्याद सकिएको वा निष्क्रिय भएको अवस्थामा विश्वकप प्याकेज मात्र खरिद गरेर सेवा सञ्चालन हुने छैन ।
मोबाइल वा ल्यापटपमा हेर्नका लागि आफ्नो डिभाइसमा डिगो एप डाउनलोड गरी रजिस्टर वा लगइन गर्नुपर्नेछ । अथवा सीधै इसेवा वा खल्ती एपमा गएर एपको होमपेजमा देखिने फिफा विश्वकप आइकन चयन गर्नुपर्नेछ ।
त्यसपछि आफ्नो आवश्यकता अनुसार मोबाइलमा मात्र हेर्नका लागि मोबाइल ओन्ली प्याकेज ५४९ रुपैयाँमा सबै १०४ खेलको मजा लिन सकिनेछ । यसैगरि मोबाइल र ल्यापटप दुवैमा हेर्नका लागि ९९९ को बेग्लै प्याकेज खरिद गर्न सकिन्छ ।
पहिलो पटक लगइन तथा अथेन्टिकेट गरेको मोबाइल नम्बर र डिभाइससँग सब्स्क्रिप्सन स्थायी रूपमा जोडिनेछ । सब्स्क्रिप्सन सक्रिय भइसकेपछि अर्को मोबाइलमा सार्न वा डिभाइस परिवर्तन गर्न नमिल्ने भएकोले आफूले हेर्न चाहेकै मोबाइल डिभाइसबाट प्याकेज खरिद गर्न एसप्रो मिडियाले सुझाएको छ ।
त्यस्तै डीगोले विश्वकप हेर्न चाहने दर्शकका लागि नयाँ ‘मोबाइल-ओन्ली’ पासको अफर पनि ल्याएको छ । उक्त पासको मूल्य करसहित ५४९ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका अनुसार दर्शकहरुले डीगो एपमार्फत विश्वकपका सबै १०४ खेल नेपाली वा अंग्रेजी कमेन्ट्री (दुबै)मा प्रत्यक्ष हेर्न सक्नेछन् ।
मोबाइल-ओन्ली पास खरिद गरेपछि प्रयोगकर्ताले १०८० पी (फुल एचडी) गुणस्तरमा खेलहरु प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् । डीगोले एपभित्रै केही क्लिकमा पास सक्रिय गर्न सकिने व्यवस्था गरिएको जनाएको छ
