धनकुटा । धनकुटाको सिधुवामा जारी दोस्रो अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि छथर जोरपाटी गाउँपालिका र धनकुटा नगरपालिका भिड्ने भएका छन् ।
शनिबार सम्पन्न सेमिफाइनल खेलबाट छथर जोरपाटी र धनकुटा विजयी हुँदै फाइनलमा पुगेका हुन् ।
पहिलो सेमिफाइनलमा छथर जोरपाटीले शहिद भूमि गाउँपालिकालाई ३–१ ले पराजित गर्यो । छथर जोरपाटीलाई जित दिलाउन प्रशान्त श्रेष्ठले ह्याट्रिक गरे भने शहिद भूमिका लागि फडिन माझीले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच छथर जोरपाटीका प्रशान्त श्रेष्ठ घोषित भए । उनले पनि नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
त्यसैगरी शनिबार नै भएको दोस्रो सेमिफाइनलमा धनकुटाले पाख्रीबास नगरपालिकालाई ३–१ कै अन्तरले हरायो । धनकुटाको जितमा पदम भट्टराईले दुई गोल गर्दा अविनाश राईले थप एक गोल गरे पराजित पाख्रीबासका लागि भने देबेन्द्र भट्टराईले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच धनकुटाका पदम भट्टराई चुनिए । उनले पनि नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको उपाधि भिडन्तका लागि छथर जोरपाटी गाउँपालिका र धनकुटा नगरपालिका आइतबार आमने–सामने हुनेछन् । सिंहदेवि युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
