एपीएफका प्रिन्स दाहाल र नेपाल आर्मीकी रशिला महर्जनले ४२ औं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । प्रिन्स पुरुष तथा रशिला महिलामा राष्ट्रिय च्याम्पियन बने ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष सिंगल्स फाइनलमा प्रिन्सले आर्मीका विधान अधिकारीलाई २१–१६ र २१–३ को सोझो सेटमा पराजित गरे ।
प्रिन्स दोश्रोपटक राष्ट्रिय च्याम्पियन बनेका हुन् । २०७९ सालमा प्रिन्सले पहिलोपटक उपाधि जितेका थिए । एपीएफका देवराज राणा र आर्मीका प्रफुल महर्जन तेश्रो भए ।
महिला सिंगल्सको उपाधि भिडन्तमा रशिलाले तीनपटककी राष्ट्रिय च्याम्पियन नङ्शल तामाङलाई सीधा सेटमा २१–१८ र २१–१८ ले हराइन् । रशिलाको यो तेश्रो उपाधि हो । यसअघि रशिलाले २०७६ र २०७९ मा उपाधि जितेकी थिइन् । आर्मीकाद्वय अमिता गिरी र रिहाना शेरचन तेश्रो बने ।
प्रिन्स र रशिला दुवैले डबल्समा पनि स्वर्ण जिते । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला डबल्समा आर्मीका रशिला र अमिताको जोडी विजेता बने । उक्त जोडीले कोशी प्रदेशका रोजी राई र निसम सुब्बाको जोडीलाई २१–१७ र २१–१७ को सोझो सेटमा पाखा लगाए ।
कोशीका नङ्शल र भावनादेवी किडम तथा नेपाल प्रहरीका सीता राई र सुष्मा श्रेष्ठको जोडी तेश्रो स्थानमा रहे । पुरुष डबल्सको फाइनलमा एपीएफका प्रिन्स र देवराज राणाको जोडीले एपीएफकै भोजबहादुर गुरुङ र क्षितिज खनालको जोडीलाई २१–१० र २१–१८ को सोझो सेटमा पन्छ्याउदै स्वर्ण चुमे ।
प्रहरीका सुनिल जोशी र कविर केसी तथा बागमती प्रदेशका राजु गरन्जा र सुमन शाक्यको जोडी तेश्रो भए । मिक्स डबल्समा आर्मीका विधान र अमिताको जोडीले बाजी मारे । उनीहरुले आर्मीकै प्रफुल र रशिलाको जोडीलाई २१–११, २०–२२ र २१–१९ को सेटमा पराजित गरे । एपीएफका प्रिन्स र पूजा थाम्सुहाङ तथा प्रहरीका कविर केसी र सुष्मा श्रेष्ठको जोडी तेश्रो स्थानमा रहे ।
प्रतियोगितामा आर्मी ३ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । आर्मीले १ लाख नगद पुरस्कार पायो । ५ स्पर्धा समावेश प्रतियोगितामा एपीएफले २ स्वर्ण जित्यो । मिक्स डबल्सको फाइनलअघि नै आर्मी टिम च्याम्पियन बन्ने निश्चित थियो । प्रतियोगिताकै अन्तिम फाइनल स्पर्धा मिक्स डबल्स आर्मीकै खेलाडीबीच हुने तय भएकाले टिम च्याम्पियन बन्ने टिम उक्त खेल अगावै टुंगो लागेको हो । त्यसअघि चार स्पर्धाको फाइनलमा आर्मी र एपीएफले समान २–२ मा जित हात पारेका थिए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष चतुरानन्दराज वैद्य, महासचिव राजीव श्रेष्ठ र सदस्य लाक्पा छिरिङ लामा, आयोजक संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
चारदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली गरी १० टिमका १ सय १५ खेलाडी प्रतिस्पर्धा गरेको आयोजक संघका प्रवक्ता बेनुपराज खत्रीले जनाएका छन् ।
