खेलाडीहरूबिच आपसी भ्रातृत्व, खेलभावना र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित ‘इन-हाउस मण्डिखाटार टेनिस क्लब डबल्स टुर्नामेन्ट’ उत्साहका साथ सम्पन्न भएको छ ।
मण्डिखाटार टेनिस क्लबको आयोजनामा भएको उक्त प्रतिस्पर्धात्मक प्रतियोगिताको मुख्य आकर्षण बनेका समीर गुरुङ र भीष्म जङ्ग गुरुङको जोडीले ‘ग्रुप ए’ तर्फको उपाधि आफ्नो नाममा दर्ता गराएको छ ।
अत्यन्त रोमाञ्चक बनेको ‘ग्रुप ए’ को फाइनल भिडन्तमा समीर र भीष्मको जोडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो भने मनोज शम्शेर राणा र हेम चन्द्र गुरुङको जोडी उपविजेतामा सीमित भयो ।
यस्तै, ‘ग्रुप सी’ तर्फको प्रतिस्पर्धामा ताशी शेर्पा र पासाङ शेर्पाको जोडीले सानदार प्रदर्शन गर्दै विजेताको ट्रफी चुमेको छ । यस ग्रुपमा ए.बि. पुन र छिरिङ शेर्पाको जोडीले उपविजेता बन्दै द्वितीय स्थान प्राप्त गर्यो ।
प्रतियोगिताको समापनसँगै आयोजित विशेष पुरस्कार वितरण समारोहमा मण्डिखाटार टेनिस क्लबका अध्यक्ष नवराज कुँवर तथा अन्य वरिष्ठ अतिथिहरूले विजेता तथा उपविजेता खेलाडीहरूलाई ट्रफी प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा अध्यक्ष कुँवरले आन्तरिक प्रतियोगिताले क्लबका सदस्यहरूबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउँदै प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याउने सम्पूर्ण खेलाडी, आयोजक टोली तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्नुभयो ।
