१६ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ ।

सोमबार इटहरी रंगशालामा भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १-० ले पराजित गर्दै गछियाले उपाधि चुमेको हो ।

गछियालाई उपाधि जिताउन दोर्जे तामाङले ८७औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

रामवाजीले प्रहार गरेको कर्नर बल प्लानिङका डिफेण्डरबाट रिफ्लेक्ट भएर आएको थियो , त्यहिमा दार्जेले उत्कृष्ट गोल गरे ।

उनी फाइनल खेलको म्यान अफ द म्याच घोषित हुदै १० हजार रुपैयाँ हात पार्न सफल भए । प्रतियोगिताको विजेता टोली गछियाले १० लाख रुपैयाँ र उप विजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्डर घोषित भए ।

गछियाका विशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले २० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए बापत २५ हजार रुपैया पुरस्कार पाए ।

राष्ट्रिय जागृती क्लबका युजन राई उदयमान खेलाडी बने । उनले ३२ इञ्चको एलइडी टिभी पुरस्कार पाए । अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसंग उपाधि भिडन्त पक्का गरेको थियो ।

पहिलो सेमिफाइनलमा गछियाले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

गछियाले क्वाटरफाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो । राष्ट्रिय जागृती क्लबले आयोजना गरेको प्रतियोगितामा २ विदेशी सहित ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता चैत्र ३० गते सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *