सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा आजदेखि ‘झुम्का च्यालेन्ज कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ पकलीलाई एक गोलले पछि गर्दै धरान–५ स्पोर्टिङ क्लब विजयी सुरुआत गरेको छ ।
धरानले आइतबारको उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफ पकलीलाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
पिप्राहा मैदान झुम्कामा भएको प्रतिस्पर्धात्मक खेलमा धरानका लागि एञ्जल राईले दुई तथा विवेक राईले एक गोल गरे ।
एञ्जलले खेलको १३औं र ३२औं मिनेटमा गोल गर्दै पहिलो हाफमै धरानलाई २–० को अग्रता दिलाएका थिए । दोस्रो हाफमा एपीएफ पकलीले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो ।
एपीएफका मन्दिप राईले दोस्रो हाफको १० औँ तथा सुनिल खड्काले ३० औँ मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो ।
तर निर्धारित समयको खेल सकिएपछि थप गरिएको तीन मिनेटको अतिरिक्त समयमा विवेक राईले निर्णायक गोल गर्दै धरानलाई ३–२ को रोमाञ्चक जित दिलाए ।
खेलको म्यान अफ द म्याच विजेता टिम धरानका एञ्जल राई भए । उनले नगद १,१११ रुपैयाँ पुरस्कार प्राप्त गरे । च्यालेन्ज कपमा सोमबारको खेल तालतलैया एफसी त्रिभुवन आर्मी फुटबल क्लब र आयोजक झुम्का फुटबल क्लब ‘बी’ बीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।
झुम्का फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ र आसपासका क्षेत्रका आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ ।
