रामधुनी (सुनसरी) । सुनसरीको रामधुनीमा जारी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगितामा, इटहरी, सुनसरी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो प्रिक्वाटरफाइनल खेलमा मधेशा फुटबल क्लब, इनरूवा, सुनसरीलाई टाइब्रेकरमा ३-० ले पराजित गर्दै राष्ट्रिय जागृतीले अन्तिम आठमा स्थान बनाएको हो ।
निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा राष्ट्रिय जागृतीका लागि निश्चल मोक्तान, उमेश राई र जोशन राईले गोल गरे ।
मधेशाका लागि मंजिल खड्का र संजय लिम्बुले प्रहार गरेको बल बाहिरियो भने शिशिर लेखिको प्रहार राष्ट्रिय जागृतीका गोल रक्षक नयन चौधरीले बचाए ।
त्यसअघि निर्धारित समयमा कबिन्द्र लिम्बुले पहिलो हाफको ३७औं मिनेटमा गोल गर्दै राष्ट्रिय जागृतीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, शिशिर लेखिले दोस्रो हाफको १७औं मिनेटमा मधेशाका लागि बराबरी गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच राष्ट्रिय जागृतीका गोल रक्षक नयन चौधरी घोषित भए । उनले नगद ३ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत मंगलबारको तेस्रो क्वाटरफाइनल खेल तालतलैया फुटबल क्लब, इटहरी, सुनसरी र सिसौली युथ क्लब, बेलबारी, मोरङबीच प्रतिस्पर्धा हुनेछ ।
पंचायन फुटबल क्लब, रामधुनी, पंचायन, सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले ८१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
