रामधुनी (सुनसरी) । सुनसरीको रामधुनीमा जारी तेस्रो पंचायन गोल्ड कप फुटबल प्रतियोगितामा सिसौली युथ क्लब, बेलबारी, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको तेस्रो क्वाटरफाइनल खेलमा तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीलाई २-१ ले पराजित सिसौलीले अन्तिम चारमा स्थान बनाएको हो ।
सिसौलीका लागि दुबै गोल अमित मिश्रले गरे भने तालतलैयाका लागि एक मात्र गोल सिजल राईले गरे । खेलको म्यान अफ दि म्याच सिसौलीका अमित मिश्र घोषित भए । उनले नगद ३ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरी र पंचायन फुटबल क्लब (रातो), रामधुनी, सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।
पंचायन फुटबल क्लब, रामधुनी, पंचायन, सुनसरीको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले ८१ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
