सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ ।

योसँगै सुदूरपश्चिमले प्रतियोगितामा ६ अंक जोडेको छ । चार खेल खेलेको सुदूरपश्चिमले तीन जित र एक हारसहित उक्त अंक जोडेको हो ।

सोमबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.२ ओभरमा सबै विकेट गुमाएर १५६ रनमा समेटियो ।

लुम्बिनीलाई सस्तैमा रोक्न खडक बोहरा र शेर मल्लले समान तीन विकेट लिए । १० ओभर बलिङ गर्दा एक मेडन ओभर फ्याकेका हेमन्त धामीले दुई विकेट लिँदा नारायण जोशी र लोकेन्द्र चन्दले समान एक विकेट लिए ।

लुम्बिनीका सन्तोष यादवले ६७ रनको अर्धशतकीय इनिङ खेले । उनले ८४ बलमा सात चौका र एक छक्का प्रहार गरे । ध्रुव सुनारले ३६ रन बनाउँदा रञ्जित खड्काले ११ रन जोडे ।

त्यसअघि पहिलो ओभरमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले ४५.४ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो । सुदूरपश्चिमका दीपक बोहराले ३० रन बनाए । ५५ बल खेलेका बोहराले पाँच चौका प्रहार गरे । हेमन्त धामीले २९ रन जोडे ।

किरण ठगुन्नाले २०, ओपनर अभिषेक पालले १७, प्रकाश पाण्डेले १४ र नारायण जोशीले ११ रन बनाए । खडक बोहरा र सूर्य श्रेष्ठले समान १० रन बनाए ।

लुम्बिनी प्रदेशका सन्तोष यादव र अजय चौहानले समान चार विकेट लिए । सन्देश थापाले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *