औराबनी (सुनसरी) । सुनसरीको गढी गाउँपालिकाको आयोजनामा संचालित सातौं प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नम्बर २ (ए) ले हात पारेको छ ।

गढी खेलमैदानमा आइतबार भएको फाइनल खेलमा वडा नम्बर २ (बी) लाई टाइब्रेकरमा ५-४ गोल अन्तरले स्तब्ध पार्दै वडा नम्बर २ (ए) ले उपाधि जितेको हो ।

उपाधीसँगै वडा नम्बर २ (ए) ले नगद ७५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा पराजित वडा नम्बर २ (बी) ले उपबिजेतामा चित्त बुझाउदै नगद ५० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो ।

खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । फाइनल खेलको म्यान अफ दि म्याच वडा नम्बर २ (बी) का सुनिल चौधरी घोषित भए । उनले पुरस्कार बापत् नगद एक हजार रुपैयाँसहित ट्रफी पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर २ (बी) का रमित रिसिदेव घोषित भए । त्यसैगरी सर्वाधिक गोलकर्ता वडा नम्बर १ (ए) का सुमन चौधरी, उत्कृष्ट गोलरक्षक वडा नम्बर २ (ए) का अमन चौधरी, उत्कृष्ट डिफेन्डर वडा नम्बर २ (बी) का समिर चौधरी, उत्कृष्ट मिडफिल्डर वडा नम्बर २ (बी) का धिरज रिसिदेव, उत्कृष्ट फरवार्ड वडा नम्बर २ (ए) का दिपक चौधरी, उदयीमान खेलाडी वडा नम्बर २ (ए) का भोला चौधरी र उत्कृष्ट प्रशिक्षक वडा नम्बर २ (ए) का महेश चौधरी घोषित भए । उनीहरूलाई प्रत्येक विधामा नगद रु १ हजार साथमा ट्रफि प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजयी टोली र खेलाडीहरूलाई समापन कार्यक्रमको प्रमुख अतिथि गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको समापन समारोहको अध्यक्षता गढी युथ स्पोर्टिङ क्लबका अध्यक्ष सत्य नारायण चौधरीले गरेका थिए । गढी युथ स्पोर्टिङ क्लबका समन्वयमा भएको प्रतियोगितामा कुल १० टिमको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *