खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सम्पन्न सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक जिल्लाको सेकाहा सामुदायिक क्लबले जितेको छ ।

महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सेकाहाले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता न्यू स्टारले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा सेकाहाका मिलन लिम्बुले पहिलो हाफको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै उनले टोलीको अग्रता दोब्बर बनाए ।

दुई गोलले पछि परेको न्यू स्टारले खेलमा फर्कने प्रयास गरेको थियो । खेलको ६०औँ मिनेटमा सेकाहाका खेलाडीले पेनाल्टी क्षेत्रमा फल गरेपछि प्राप्त पेनाल्टीमा सन्दीप श्रेष्ठले गोल गर्दै अन्तर घटाएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सेकाहा २–१ ले विजयी भयो ।

खेलका क्रममा खेलाडीबीच मैदानमै हात हालाहाल भएपछि दुवै टोलीका खेलाडीले रातो कार्ड पाएका थिए । त्यसपछि तनावपूर्ण बनेको खेलमा सेकाहाले अग्रता जोगाउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगितामा सेकाहाका दोर्जे तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सेकाहाकै गोलरक्षक विपुल मगर उत्कृष्ट गोलरक्षक तथा न्यू स्टारका सञ्जय श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए ।

अरुण उपत्यका सामुदायिक विकास क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका आठ टोली सहभागी थिए ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप, प्रदेशसभा सदस्य राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *