फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले संघर्षपूर्ण जित हासिल गर्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित बनेको पिएसजीले स्ट्रासबर्गलाई उसैको मैदानमा २–१ ले हरायो । पिएसजीलाई जित दिलाउन सेनी मायुलु र नुनो मेन्डिसले समान १-१ गोल गरे । स्ट्रासबर्गका लागि गुएल्ला डुएले गोल गरे ।
खेलको २२औ मिनेटमा मायुलुले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट पछि नै डुएले स्ट्रासबर्गका लागि बराबरी गोल फर्काए ।
खेलको ७४औं मिनेटमा अचराफ हाकिमीले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भयो । दबाबमा परेको पिएसजीलाई ८१औं मिनेटमा गोल गर्दै मेन्डिसले स्पष्ट तीन अंक दिलाए ।
जितसँगै शीर्ष स्थानमा फर्किएको पिएसजीले २० खेलबाट ४८ अंक जोडेको छ । पिएसजीले दोस्रो स्थानको लेन्सभन्दा दुई अंक बढी जोडेको छ । यता, समान खेल खेलेको स्ट्रास्बर्ग ३० अंकसहित सातौं स्थानमा छ ।
