विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा सम्पन्न तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको उपाधिका लागि मितेरी एफसी, विराटचोकले जितेको छ ।

बुधबार विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक बरगाछी युवा समाज, विराटनगरलाई ४-० ले पराजित गर्दै मितेरीले उपधि जितेको हो ।

उपाधि विजेता मितेरीले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल हात पारेको छ भने उपविजेता आयोजकले २० हजार रुपैयाँमा चित्त बुझायो ।

मितेरीको तर्फबाट ग्यालेक्सी लिम्बुले दुई तथा दिपेश चौधरी र सुदर्शन चौधरीले एक-एक गोल गरे । फाइनल खेलको म्यान अफ दि म्याच मितेरीका गोलरक्षक अभिशेक लिम्बु घोषित भए । उनले विराटनगरमा रहेको विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्डर आयोजकका सुबास राजबंशी भए भने सर्वाधिक गोलकर्ता मितेरीका ग्यालेक्सी लिम्बु, उत्कृष्ट गोलरक्षक आयोजकका नयन चौधरी, उदयीमान खेलाडी आयोजककै आर्यन विश्वकर्मा बने । विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले जनही दुई हजार रुपैयाँ, ट्रफी, मेडल र विराट स्पोर्ट्स जोनबाट एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गरे ।

विजेता उपविजेता तथा विधागत पुरस्कार विजेतालाई समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि उम्मेदवार डा. शेखर कोइराला, स्व.अभिषेक थापको आमा तथा विराटनगर महानगरपालिका वडा नं ११ का वडा सदस्य गायत्री थापा, न्यु लाइफ पुनर्स्थापना केन्द्रका सञ्चालक प्रबिन बस्नेत, चन्डिका डिस्टिलरी सप्लायर्सका सञ्चालक टिपि आचार्य, विराट स्पोर्ट्स जोनका सञ्चालक हरि बजगाई, बरगाछी युवा समाजका सभापति आकाश घिमिरे, बरगाछी युवा समाजका उपसभापति राम नेपाल, खेल संयोजक लक्ष्म्ण नेपाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

लागु औषध दुर्व्यसनी न्युनिकरण गर्न ‘स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेलकुद’ भन्ने मुल नारा सहित आयोजना गरिएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *